Tuesday, November 19, 2024

बर्खा अगावै मेलम्चीको पानी ल्याउन माग

काठमाडौँ– मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ।

सञ्चार केन्द्र नेपालले मंगलबार आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताए। समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उनले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराए। आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीले रु ३६ करोड माग्ने प्रक्रिया नै पूरा नगरी पैसा नदिएको भनी प्रचार गरिएकोप्रति आपत्ति जनाए।

खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले पुरानै निर्माण व्यवसायीलाई आवश्यक बजेटको व्यवस्था गरेर आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताए। आयोजनाको शुरुआती अवस्थामा काम गर्नुभएका इञ्जिनीयर श्रीराम न्यौपानेले रु ४० करोडका उपकरण भाडामा लिएर काम गरेका नेपाली निर्माण व्यवसायी मारमा परेको बताए। सिन्धुपाल्चोकस्थित आयोजनास्थलका स्थानीयवासी पासाङतेम्बा शेर्पाले मुहानस्थलमा काममा अवरोध नगरिएको प्रस्ट पारे। रासस

ताजा समाचार

सम्बन्धित समाचार