Tuesday, November 19, 2024

छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त

बर्दिवास – महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ। जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन। हिजोआज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ।

चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन्। दुई/तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जिल्लाका मुख्य बजारमध्ये बर्दिवास, गौशाला र जलेश्वरमा छाडा पशुवस्तुको जगजगी बढी छ। बर्दिवासमा त गत दशैँताका गाई पछ्याउँदै हिँडेको साँढेले एकैदिन १० जनालाई हानेर लडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित ठूलो जनशक्ति लगाएर नियन्त्रण गर्नुपरेको थियो।

दूध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो। सडक र बजारक्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाय व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँले सचेतता देखाउनु राम्रो विकल्प हुने बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेल बताउँछन्।

बालीनाली नोक्सान गर्ने र बजार एवं सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि जिल्लाका १५ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन्।

जिल्ला सदरमुकाम जलेश्वरमा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ। यसरी छाडा छाडिएका सुँगुरले त घरको भान्सा कोठासमेत पसेर नोक्सान पार्ने गरेको जलेश्वर–१ की श्यामकला चौधरी बताउँछन्।

अहिलेसम्म कानूनी कारवाही अघि बनढाउँदा चौपाया छाडा छाड्ने क्रम झन बढ्दै गएको स्थानीय कानून व्यवसायी उद्धव क्षेत्री बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार