Friday, September 20, 2024

८५ प्रतिशत विषादी तरकारी बालीमा, प्रतिहेक्टर डेढ केजी बढी

काठमाडौं–सरकारले अर्ग्यानिक खेतीलाई प्रवर्द्धन गर्ने घोषणा गरेपनि बालीनालीमा कीटनाशक विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ। जसका लागि नेपालको वार्षिक ७५ करोड रकम हाराहारीमा रकम बाहिरिने गरेको छ।

केन्द्रका प्रमुख डिल्लीराम शर्माका अनुसार नेपालमा बालीनालीमा प्रतिहेक्टर जमिनमा ३ सय ९६ ग्राम विषादी प्रयोग हुने गरेकोमा तरकारीबालीमा अझ बढी छ। तरकारी बालीमा प्रतिहेक्टर १ किलो ६ सय ५ ग्रामका दरले विषादी प्रयोग हुने गरेको केन्द्रको तथ्यांक छ। यसरी हेर्दा नेपालमा आयात हुने कुल विषादीको ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुने गरेको पाइन्छ।

गत वर्ष मात्र कीटनाशक विषादी १ सय ६९ टन, रोगनाशक विषादी ३ सय ४७ टन, झारनाशक विषादी १ सय ५ टन र अन्य १४ टन आयात भएको केन्द्रको तथ्यांक छ। गत पाँच वर्षमा ११ अर्ब रुपैयाँको विषादी आयात भएको देखिन्छ।
सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्ताकहाँ पुर्याउने कार्यमा तत्काल रोक लगाउनसरकारको नाममा २०७४ माघ १६ गते परमादेश जारी गरेपनि कार्यान्वयन भएको छैन।

उपभोक्ता अधिकार ऐन, २०५४ को विभिन्न प्रावधानमा पनि उपभोक्ताले विषादीरहित खाना खान पाउने अधिकार भएको उल्लेख छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो अध्ययनले १२ प्रतिशत खाद्य सामग्री (धेरैजसो तरकारी) मा प्रतिबन्धित विषादीको मात्रा बढी फेला पारेको थियो।

नेपालको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारसहित अन्य ७ स्थानमा विषादी अन्वेषण हुँदै आएको छ। कालीमाटीमा दैनिक ८ वटा नमूना परीक्षण गरी विषादीको मात्रा बढी भएका तरकारी नष्ट गर्न लगाइन्छ।

खाद्यवस्तुमा विषादीको मात्रा नाप्ने निषेध दर (इन्हिबिसन रेट) ४५ प्रतिशतभन्दा बढी भएका तरकारीलाई अखाद्य, ३५ देखि ४५ प्रतिशत भएकालाई निश्चित अवधि राखेर मात्र खान मिल्ने र ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ।

बाली संरक्षण निर्देशनालयअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखामा २ हजार २ सय ७५ वटा व्यापारिक नाम भएका १ सय ३२ थरीका विषादी दर्ता गरिएका छन्। तिनमा ५१ थरीका कीटनाशक विषादी (इन्सेक्टिसाइड) छन्। नेपालमा सबभन्दा बढी कीटनाशक र ढुसीनाशक विषादी प्रयोग हुन्छ। सरकारले १६ थरीका विषादीलाई प्रतिबन्धित सूचीमा राखेको छ। थप ५ वटा घातक विषादीमाथि प्रतिबन्ध लगाउने सरकारको तयारी छ।

ताजा समाचार

सम्बन्धित समाचार