काठमाडौँ –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र उपयोग सँगसँगै हुने गरी व्यवस्थापनका उपाय अवलम्बन गरिएको बताएका छन्। नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको १९औँ साधारणसभाको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले वन उत्पादनशील क्षेत्र भएकाले संरक्षण र उपयोग एक साथ अघि बढाउने उद्देश्यका साथ नयाँ वन नीति ल्याएको जानकारी दिए।
वन पैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउन मन्त्रालयले निजी क्षेत्र र वनमा आधारित उद्यमलाई प्रोत्साहन गर्ने नीति अपनाएको उल्लेख गर्दै मन्त्री बस्नेतले वन क्षेत्रलाई समृद्धिको एक आधार बनाउन विविध कार्यक्रम अघि बढाएको बताए।
सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अपनाएको स्पष्ट पार्दै उनले वन क्षेत्रको संरक्षण र उपयोगका सम्बन्धमा सरकार निजी क्षेत्र र समुदायसँगै मिलेर काम गर्ने बताए। मन्त्रालयले काठमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको जनाइरहेका बेला स्वदेशी काठको कमी र चर्को मूल्यका कारण गत आर्थिक वर्षमा मात्र मुलुकमा रु पाँच अर्ब ७५ करोड मूल्यको काठ विभिन्न मुलुकबाट आयात भएको महासङ्घको तथ्याङ्क छ।
महासङ्घले वनमा रहेका ढलापडा, सुख्खड खडा, वृद्धि रोकिएका बुढा रुख सदुपयोग नगरेका कारण लाखौँ क्युफिट काठ आगोले डढी र सडिगली जानाले राज्यको अर्बौ राजश्व नष्ट भएको जनाएको छ। कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले वन क्षेत्रमा देखिएका कानूनसम्बन्धी चुनौतीको समाधान गर्न आफूहरु नयाँ कानून निर्माण र व्यवधान खडा भएका कानून संशोधन गर्ने प्रक्रियामा अघि बढेको बताए।
सङ्घीय सांसद पार्वत गुरुङले महासङ्घलाई काठमा मात्र आधारित उद्योगलाई अन्य वन पैदावारको उद्यममा विविधीकरण गर्न सुझाव दिँदै पेशाको मर्यादा जोगाउन व्यवसायी स्वयंले आचारसंहिता पालना गर्नुपर्ने बताए।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले वन क्षेत्रको काठमा मात्र आधारित उद्योगलाई समयानुसार उत्पादनमा विविधीकरण गर्न नयाँ प्रविधिको प्रयोग आवश्यक रहेकामा जोड दिए। वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालयले काठको आयात निरुत्साहित गर्न लक्ष्यअनुसार मुलुकभित्रको काठको उत्पादन बढाएको उल्लेख गर्दै उत्पादन बढेसँगै खपत पनि बढाउनुपर्ने बताए।
कार्यक्रममा मन्त्रालयका सहसचिव डा सिन्धुप्रसाद ढुङ्गाना, महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकाल, निवर्तमान अध्यक्ष कपिलप्रसाद अधिकारी र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले वन पैदावार उद्योग क्षेत्रमा देखिएका चुनौतीका बारेमा अवगत गराउँदै समाधान उपाय सुझाएका थिए।
कार्यक्रममा वन व्यवस्थापन तथा उद्यम प्रवद्र्धन राष्ट्रिय पुरस्कारबाट सहसचिव ढुङ्गानालाई र वन पैदावार उद्यम प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट कारोबार दैनिकका प्रगति ढकाललाई सम्मानीत गरिएको थियो ।रासस