Friday, September 20, 2024

फास्ट ट्रयाकमा वन्यजन्तुका लागि अण्डरपास बन्ने

काठमाडौं–राष्ट्रिय गौरवको योजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा वन्यजन्तुकाे आवतजावतका लागि दुई वटा अण्डरपास बनाइने भएको छ।

नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक अन्तर्गत पर्ने जंगलमा वन्यजन्तु आवतजावतका लागि दुई स्थानमा अण्डरपास बनाइने भएको हो।

फास्ट ट्रयाक अन्तर्गतको बारास्थित एउटा सामुदायिक वनमा वन्यजन्तुका लागि अण्डरपास बनाउन लागिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख अमिर महर्जनले जानकारी दिए।

‘पर्सा निकुञ्जको सीमा क्षेत्रको १ किलोमिटर टाढा रहेको पूर्व–पश्चिम राजमार्गबाट सात किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा रहेका वन्यजन्तुलाई असर नपरोस भन्न हामीले अण्डरपास निर्माणको प्रस्ताव गरेका हौँ,’ उनले भने, ‘जंगलको बीचबाट सडक जाँदा वन्यजन्तुलाई निकै नै असर पर्ने देखिन्छ।’

बाराको तामागढी क्षेत्रमा रहेको जंगलमा केही किलोमिटरको दूरीमा अण्डरपास निर्माण गरिने उनको भनाइ छ। अण्डरपास निर्माणका लागि के कति रकम आवश्यक पर्ने भन्ने विषयमा छलफल भइरहेको नेपाली सेनाको भनाइ छ। सैनिक श्रोतका अनुसार फास्ट ट्र्याक अन्तर्गत पर्ने जंगलमा आवश्यकता अनुसार वन्यजन्तुका लागि अण्डरपास बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ।

जंगली क्षेत्रमा सडक निर्माण गर्दा वन्यजन्तुलाई आवतजावत गर्न कठिनाइ हुने भन्दै यसअघि विभिन्न समयमा अण्डरपास वा अन्य केही विकल्प खोजिनुपर्ने आवाज उठ्दै आएको थियो। रात्रिकालीन समयमा वन्यजन्तु सडक आसपास समूहमा हिँड्ने भएकाले दुर्घटना हुन सक्ने आँकलन गर्दै संरक्षणकर्मीहरूले आवाज उठाइरहेका थिए।

अण्डरपास बनाउँदा वन्यजन्तुले उक्त मार्गलाई प्रारिम्भक मार्गको रुपमा प्रयोग गर्ने भएकाले सडकमा हुनसक्ने दुर्घटना न्यून हुने बताइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार