कञ्चनपुर – कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन्।
अतिक्रमित जमीनलाई खाली गराउने काम भइरहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी गोपालदत्त जोशीले जानकारी दिए। कार्यालयले उपलब्ध गराएको विवरणअनुसार जिल्लाभर अतिक्रमण गरिएको तीन हजार एक सय ९५ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमण हटाएर ८९४ हेक्टरमा झारिएको छ ।
भीमदत्त नगरपालिकामा २०१.६२ हेक्टर, वेदकोटमा ६३३.१५ हेक्टर, शुक्लाफाँटा नगरपालिकामा ७९.९७ हेक्टर, लालझाडी गाउँपालिकामा ३१.२१ हेक्टर, कृष्णपुर नगरपालिकामा एक हजार हेक्टर र बेलौरी नगरपालिकामा १३ हेक्टर वन अतिक्रमण गरिएको छ ।
अतिक्रमित वन क्षेत्रमध्ये हालसम्म जम्मा २३०० हेक्टर वन क्षेत्र खाली गराइ सकिएको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ ।
विभिन्न क्षेत्रमा वन अतिक्रमण गरी बनाइएका घरटहरा र खेतीयोग्य जमीन गरेर उक्त वन क्षेत्र खाली गरिएको हो जसमा २२१८ घरटहरा र खेतीयोग्य जमीन गरेर २३०० हेक्टर वन क्षेत्र खाली गरिएको छ ।
कार्यालयमा रहेको विवरणअनुसार हालसम्म कञ्चनपुरमा सामुदायिक र निजी गरेर जम्मा ३०९ वन दर्ता गरिएका छन् जसमा १३१ सामुदायिक र १७८ निजी वन छन् । रासस