काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । ललितपुरको एकान्तकुनास्थित पानी जहाज कार्यालयको विहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाजले सामान ओसार्ने बताए ।
नेपालमा रेल भन्दा पहिले पानी जहाज चल्ने बताउँदै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए।
उनले नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको बताउँदै रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने घोषणा गरे।
पानी जहाजको कार्यालय कसैलाई जागिर खुवाउन मात्र नखोलिएको बताउँदै उनले भने,‘ २–४ जना इन्जिनियरले काम नपाएर पानी जहाज कार्यालय खोलिएको होइन देशलाई एक कदम अगाडि बढाउन खोलिएको हो।’
नदीको आकार र गहिराइअनुसार पानी जहाज ल्याइने उनको भनाइ छ। ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन। सानो डुंगाजस्तो पनि होइन। ठिक्कको पानीजहाज आउँछ।’ उनले भने, ‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ।’
उनले नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको औँल्याए । उनका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । उनले भने, “भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।”
उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिए । उनले भने, “अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताए । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उनले जानकारी दिए । भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उनले औँल्याए। उनले भने, “अहिलेसम्म सडक र हवाईमार्गबाट मात्रै जोडिएकामा जल यातायात र रेल यातायातबाट पनि हामी जोडिँदैछौँ ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताए। भूपरिवेष्ठित देशमा पानीजहाज धेरै नेपालीले असम्भव विषय सोच्ने गरेको उल्लेख गर्दै उनले भने, “हिजो पानीजहाज सम्भव छ र रु भन्नेहरुले नै हामीलाई घच्घच्याइरहनुभएको थियो।”
मन्त्रालयका सचिव मधुसुदन अधिकारीले अहिलेसम्म सडक यातायात र हवाई यातायात मात्रै सञ्चालनमा रहेकामा जल यातायात र रेल यातायातको शुरुआत र विस्तार गर्न मन्त्रालय लागिपरेको बताए।
मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले जल यातायात हवाई र सडक यातायातभन्दा सस्तो हुने औँल्याए। मन्त्रिपरिषद्को गत पुस २९ गतेको बैठकले उपसचिवको नेतृत्वमा १६ कर्मचारी रहने गरी कार्यालय स्थापनाको निर्णय गरेको थियो।