कैलाली–धनगढी उपमहानगरपालिकाले ८ मंसिरमा जाखोर ताल सरसफाइ अभियान सुरु गरेकोमा पाँचौँ हप्तासम्म पनि पुग्न सकेन।
जाखोर तालमा फैलिएको जलकुम्भीका कारण ताल कुरूप बन्दै गएपछि उपमहानगरपालिकाले ताल सफा र सुन्दर बनाउने अभियान शुरु गरे पनि सार्थकता पाउन सकेको छैन।
धनगढी उपमहानगरपालिकाको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तालबाट जलकुम्भी हटाउने काम भइरहेको बेला जाडो मौसममा गर्ने नसकिने भन्दै स्थगित गरेको उपहमनगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक विष्ट दाबी गर्छन। ‘चौथो हप्ताभन्दा बढी सफा गर्न सकिएन। जाडो बढ्न थालेपछि सरसफाइ अभियान स्थगित गरेका हौँ,’ उनले भने।
जिल्ला वनस्पति कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसँगै धनगढीको जाखोर तालमा जलकुम्भी तथा फोहोरका कारण कुरूप बन्दै गएको उनले बताए। सरसफाइ अभियान पुनः फागुनबाट सुचारु हुने उनले बताए। उतिबेला सरसफाइ अभियानको उदघाटन गर्दै मेयर नृपबहादुर वडले तालको सुन्दरता घुम्न नदिने बताएका थिए। तर, उपमहानगरले चौथो हप्तामै यो अभियान रोकेको थियो।
पछिल्लो समय तालमा फोहोर बढ्दै गएको स्थानीय विक्रम चौधरीले बताए। स्थानीय महिलाहरूलाई ताल भोगचलन गर्ने दिएको बेला महिलाहरूले महिनाको एक पटक ताल सरसफाइ गर्ने गरेको उनले बताए।
यो ताल झन्डै १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस तालमा विभिन्न प्रजातिका माछा, कछुवा छन्, भने कमलको फूल पनि फुल्ने गर्छ।






