म्याग्दी – सदरमुकाम बेनीबजारको फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ।
बेनी र गलेश्वर बजारको फोहर सङ्कलन तथा रातोपहिरोमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र सञ्चालनका लागि मङ्गलबार सम्झौता भएको हो। नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालि पोखराका सञ्चालक याम दमाईका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको नगर प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए।
सम्झौताअनुसार नगरपालिकाको ट्याक्टर र कम्प्याक्टर परिचालन गरेर सो फोहर सङ्कलन गरी केन्द्रमा लगेर व्यवस्थापन गरिने भएको छ। एक ट्याक्टर, एक कम्प्याक्टरको इन्धन र मर्मत खर्च तथा चार कर्मचारीको तलबभत्ता कम्पनीले नै ब्यहोर्ने छ।
फोहर व्यवस्थापनवापतको शुल्क नगरपालिकाले नै उठाउने, नगरपालिकाले ४० र कम्पनीले ६० प्रतिशत शुल्कको आम्दानी लिने सम्झौतामा उल्लेख भएको प्रवक्ता बराइलीले जानकारी दिए। बुधबारदेखि सम्झौता कार्यान्वयन हुने भएको छ।
नगरपालिकाले वडा नं ८ र ९ को सिमानामा पर्ने रातो पहिरोमा रु ४८ लाख खर्च गरेर गत असोजमा फोहर व्यवस्थापन केन्द्रको पूर्वाधार निर्माण गरेको थियो। वातावरणलाई असर नपर्ने गरी फोहर व्यवस्थापन हुने नगरप्रमुख श्रेष्ठले बताए।
टोल सुधार समितिसँगको सहकार्यमा घरमै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै भाँडामा राखेर सङ्कलन गरी सोहीअनुसार व्यवस्थापन गर्ने व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। बेनी–गलेश्वर सडकको छेउ र कालीगण्डकी किनारमा फालिदै आएको फोहरको दुर्गन्धका कारण गलेश्वर, जलेश्वर, बगरफाँट र कालीपुलका बासिन्दालाई सकस भएको थियो। रासस