Tuesday, November 19, 2024

हिमपातले खुलेन मार्तडी–कोल्टी सडक

मार्तडी–जिल्लामा मौसममा एकाएक परिवर्तनसँगै लगातर आएको पानी र हिमपातका कारण उत्तरी भेगसँग जोेडिएको मार्र्तडी–कोल्टी सडक एक महीना बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । सडक नखुलेपछि यात्रुले कठिनाइ भोग्दै आएका छन् ।

यातायात नियमित हुन नसक्दा मार्तडीबाट कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका जिप र ट्र्याक्टर मार्तडीमै थन्किएका छन्। वर्षासँगै आएको हिउँ पोरखे काँधक्षेत्रको सडकमा जमेका कारण कठिनाई भएको हो ।

भारी हिमपातपछि थुप्रिएको हिउँ अझै पग्लिएको छैन । हिउँ नपग्लिँदा हिमाली क्षेत्रको जनजीवन अझै कष्टकर रहेको छ । अत्यधिक चिसोका कारण हिउँ कडा चट्टानजस्तै जमेको छ । त्यसले गर्दा पनि सडकमा यातायातका साधन चल्न सकेका छैनन् । हिउँ पग्लिन कम्तीमा एक साता लाग्ने बताइएको छ । हिउँका कारण पोरखे काँधमा यातायातका साधन जान नसक्ने भएकाले उत्तरी भेगमा जाने यात्रुले दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेको छ । सो क्षेत्रमा हिउँ जमेकाले कोल्टीबाट र मार्तडीबाट जिप र मालबाहक ट्र्याक्टरसमेत आवतजावत गर्न नसकेको व्यवसायीको भनाइ छ ।

उत्तरी भेगको कोल्टीका लागि छुटेका जिप भने बडीमालिका नगरपालिका–७ ढम्कनेसम्म मात्र जाने गरेको जय मालिका यातायात प्रालिका अध्यक्ष पृथ्वी रावलले बताए। उनले उत्तरी भेगमा सञ्चालन हुँदै आएको यातायात नियमित गर्न पोरखे काँधमा जमेको हिउँ बडीमालिका र बूढीनन्दा नगरपालिकाले नहटाउने हो भने सवारी साधन त्यसतर्फ जान नसक्ने बताए।

वर्षाका कारण मार्तडी–कोल्टी सडकखण्ड अप्ठ्यारो बन्दै गएकाले यातायातका साधन चल्न नसकेको जय मालिका यातायातका प्रालिका अध्यक्ष रावलको भनाइ रहेको छ । पोरखे काँधमा जमेको हिउँ पग्लन अझै दुई साता लाग्न सक्ने व्यवसायीको भनाइ छ ।

माघ पहिलो सातादेखि शुरु भएको पानीसँगै हिमपातका कारण उक्त क्षेत्रको जनजीवन निकै प्रभावित भएको छ । हिउँ बढी जमेका कारण मान्छेलाई समेत निकै कठिन हुने गरेको छ । मार्तडी र कोल्टीमा आवतजावत गर्ने उत्तरी भेगका स्थानीयले हिँडेरै यात्रा गर्नुपरेको बताइएको छ । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले सो क्षेत्रमा जमेको हिउँ र मार्तडी–कोल्टी सडकको अवस्थाका बारेमा फागुन २ गते स्थलगत अध्ययन गरी सडक खोल्ने कार्य शुरुआत गर्ने बताए।

जमेको हिउँ तत्काल सफा गर्दा पुनःहिमपात भएमा दोहोरो खर्च हुने भएकाले मौसम अनुमान महाशाखासँग मौसमको अवस्थाबारेमा बुझेर सडक नगरपालिकाले खोल्ने कार्य शुरु गर्ने उनले बताए। प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाको टोली मार्तडीदेखि पोरखे काँधसम्मको सडकको अवस्था अवलोकन गरिसकेपछि मात्र सडक खोल्ने कार्यको थालनी हुने बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए।प्रेम रौले/रासस

ताजा समाचार

सम्बन्धित समाचार