चाेरीशिकार राेक्न हिमाली क्षेत्रमा प्रहरीकाे गस्ती

कैलाली– बाजुरा प्रहरीले वन्यजन्तुको चोरीशिकार रोक्न हिमाली क्षेत्रमा गस्ती शुरु गरेको छ।

तुलानात्मक रुपमा हिमपातको समयमा वन्यजन्तु चोरीशिकार बढी हुने भएकाले  जिल्ला प्रहरी कार्यालय बाजुराले गस्ती थालेको जनाएको छ।

डिएसपी उद्ववसिंह भाटका अनुसार हिमपात भएपछि दुई–तीन पटक बन्दुक पट्काएको आवाज सुनेको भन्दै स्थानीयले जानकारी गराएपछि गस्ती शुरु गरिएको हो। उनका अनुसार चिसो तथा हिमपात भएको बेलामा बन्दुक तथा पासोलगाएर तस्करले वन्यजन्तु मार्ने गरेका छन्।

‘जाडो मौसममा वन्यजन्तुको चोरी सिकारी बढी हुँदो रैछ,’ उनले भने, ‘त्यसलाई रोक्नका लागि यहाँका वन तथा हिमाली भेगमा प्रहरी गस्ती सुरु गरेका छौँ।’ भाटका अनुसार विशेष गरी बडीमालिका वडा नम्बर ३ र ८ का आसपासका क्षेत्र, हिमाली गाउँपालिका, बुढीनन्दा, दहकोट, मनाकोट लगायतका क्षेत्रमा बढी वन्यजन्तु मासिने तथा चोरी निकासी हुने भएकाले गस्ती परिचालन गरिएको छ।

‘गत वर्षपनि यो यी क्षेत्रमा गस्ती बढाइएको थियो। यो वर्षपनि प्रहरी परिचालनपछि बन्दुक पट्किन छाडेको स्थानीयहरूको भनाइ छ,’ उनले भने। उनले गत वर्ष कालिज, मृग मारेर बजारमा बेच्ने गरेको समेत बताए। उनका अनुसार यो वर्ष वन्यजन्तु चोरी सिकारी सम्बन्धी कुनै मुद्दा दर्ता नभएको बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष२०७१-७२ मा बाघको ५८ किलो छालासहित तीन स्वदेशी र ३ विदेशी गरी ६ जना प्रक्राउ परेका थिए। त्यस्तै आर्थिक वर्ष २०७२-०७३ मा चितुवाको छाला २७ किलो र हड्डी १ सय ७६ किलोसहित १ महिलासहित १२ जना पक्राउ परेका थिए।

?

आर्थिक वर्ष २०७३-७४ मा चितुवाको छाला, भालुको पित्त,कस्तुरीको विना र बाघको दाँतसहित ७ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७४-७५ मा भालुको पित्त,रतुवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तृरी मृग, ध्वाँसे चितुवा वा गौंरीलाई मार्ने, घाइते बनाउने, खरिद गर्न नपाइने उल्लेख छ।

त्यसैगरी हस्तनान्तरण गरी लिने दिने तथा गैँडाको खाग वा कस्तृरीको बीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटपहार राख्ने खरिद गर्ने वा विक्री गर्ने व्यतिलाई पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना हुने वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ।

त्यस्तै संरक्षित शिकार गरी मारेमा वा घाइते बनाएमा १५ हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनादेखि नौं महिनासम्म कैद वा दुवै सजाय, त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए वा बापत हुने सजाय समेत हुने हुने कानुनी व्यवस्था छ।

ताजा समाचार

सम्बन्धित समाचार