४४८ उद्धारकर्मी तयार गर्दै काठमाडौं महानगर

काठमाडौं–घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि काठमाडौं महानगरपालिकाले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयम्सेवक तयार गर्ने तयारी थालेको छ।

त्यसका लागि एउटा वडाबाट ४० जना स्वयम्सेवकलाई बिपद उद्धार तथा अग्नि नियन्त्रण सम्बन्धि ७ दिनको तालिम दिइनेछ।

यसरी तालिम प्राप्त स्वयम्सेवकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएर स्थानीय स्तरमा हुने घटनाको व्यवस्थापन गर्ने पहिलो प्रतिकार्य दस्ता बिकास गराउन थालिएको महानगरले जनाएको छ। यसका लागि वडा ६, ७ र २१ बाट स्वयम्सेवक गठन भई नाम आइसकेको, बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।

महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल भन्छन्, ‘सबै वडाबाट नाम प्राप्त भइसकेपछि हामी तालिम शुरु गर्छौं । हामीले तयार पारेका स्वयम्सेवकमार्फत हामी हरेक घरमा पुग्ने प्रयास गर्नेछौं।’

अहिले सम्ममा २० वटा वडाका पदाधिकारीलाई दिइसकिएको यो तालिम सकिएपछि ४ सय ४८ जना अर्ध—दक्ष तालिम प्राप्त जनशक्ति तयार हुने, कार्य सञ्चालन केन्द्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार वडा ५, ६, ७, ८, ९, १२, १५, १६, १८, १९, २०, २१, २३, २४, २६, २७, २८, २९, ३० र ३२ का लागि तालिम सकिएको छ । त्यस्तै वडा ६, ७ र २१ मा बिपद उद्धार तथा अग्नि नियन्त्रक स्वयसेवक गठन भइसकेको छ।

केन्द्रले विपद  व्यवस्थापन अन्तर्गत पूर्व तयारीका लागि अनुशिक्षण सञ्चालन गरेको हो। महानगरका सबै वडामा १४ सदस्यीय बिपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ। यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व छ।

ताजा समाचार

सम्बन्धित समाचार