काठमाडौं–पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार रातिसम्म वर्षा हुने देखिन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गत बुधबाररातिबाट पश्चिमी क्षेत्रबाट सक्रिय बनेको वायुको प्रभावका कारण पूर्वी क्षेत्रमा समेत वर्षा भइरहेको छ। भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।
यो क्रम शनिबार रातिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। ‘दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुन्छ,’ उनले भनिन्, ‘शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।’
बिहीबार मुुलुकका पश्चिम र मध्य क्षेत्रसँगै काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो। शुुक्रबार पूूर्वी क्षेत्रमा वर्षा हुने उल्लेख गर्दै मौसमविद् कँडेलले भनिन्, ‘पश्चिमी क्षेत्रमा पनि वायुको प्रभाव कायमै छ।
मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ। आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ।
उनका अनुसार आइतबार मौसम सफा हुने देखिन्छ। तर, सोमबार फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली सक्रिय हुने पूर्वानुमान गरिएको छ। ‘अब आउने प्रणाली अहिलेको जस्तो सक्रिय हुँदैन। तर, केही स्थानमा वर्षा हुन्छ,’ उनले भनिन्, ‘लामो समयसम्म पनि रहँदैन्।’ विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ।