खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं–बिहीबार बिहानैदेखि मौसममा आएको खराबीका कारण देशको आन्तरिक हवाई उडान प्रभावित भएको छ।

मौसमका कारण कमजोर भिजीविलीटी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान र अवतरण गर्ने विमानहरु प्रभावित भएका हुन्।

विमानस्थलमा दैनिक २ सय ५० विमान उडान र अवतरण गर्ने गरेकोमा आधाजति उडान–अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, एयर ट्राफिकले जनाएको छ।

केही विमान भिजिविलिटी कमजोर भएका कारण तथा केही विमानले विमानस्थलमा जमेको हिउँका कारण उडान–अवतरणमा समस्या हुने हुँदा नियमित उडान रोकेको पनि विमानस्थलले जनाएको छ।

एयर ट्राफिकका एक अधिकारीले जनाए अनुसार कतिपय उडान कटौती गरी केही सीमित उडान पनि भरिएको छ।  दैनिक जसो धेरै उडान हुने पोखरा, भैरहवा, सीमरा, धनगढी, भरतपुर र विराटनगरमा विभिन्न एयरलाइन्सका विमान उडान–अवतरण भइरहेको ती अधिकारीले बताए।

उनका अनुसार लुक्ला विमानस्थलमा विहान उडान भएपनि मध्यान्हपछि कुनै उडान भएको छैन।  नेपनालगञ्जबाट पनि विमान आउजाउ हुन नसकेको एयर ट्राफिकले जनाएको छ।  हिमपातका कारण उच्च पहाडी भागका विमानस्थलबाट पनि उडान र अवतरण हुन सकेको छैन।

कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात भएपछि त्यहाँका विमानस्थलसमेत अवरुद्ध भएका छन्।

डोल्पाको जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ। जहाज अवतरण गर्ने हवाई मार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो। यसैबीच, अन्तर्राष्ट्रिय विमान उडान र अवतरण भने नरोकिएको पनि एयर ट्राफिकले जनाएको छ।  त्रिभुवन विमानस्थलमा दैनिक ८० देखि ९० वटा अन्तर्राष्ट्रिय विमान उडान र अवतरण हुने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार