Monday, November 18, 2024

देशभर वर्षा : कहाँ–कहाँ भयाे हिमपात ? 


काठमाडौँ
– पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबार देशभर बदली हुनुका साथै वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको खबर प्राप्त भएको छ।

बिहीबार बिहानैदेखि पश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा मध्य तथा पूर्वी क्षेत्रमा भने वर्षा भएको छ।
मौसमविद् शान्ता कमलीका अनुसार पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण देशभर मौसममा बदली भएको हो। सुदूरपश्चिम, पश्चिमका साथै मध्य क्षेत्रका जिल्लाहरूमा वर्षा भएको र हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरा, दार्चुला, बैतडी मनाङ, मुस्ताङ, दोलखा, सोलुखुम्बुलगायतका उच्च पहाडी जिल्लाहरूमा हिमपात भएको उनले बताइन्।

बैतडीको श्रीभावर, खोड्पे, सतबाँझलगायतका भूभागमा हिमपात भएको छ। बाजुराको बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे क्षेत्रमा बाक्लो हिउँ परेको छ।

जुम्लाको अधिकांश स्थानमा हिमपात हुँदा दार्चुलाको नौगाड क्षेत्र, अपिहिमाल आसपास, व्याँस गाउँपालिका, मार्मा क्षेत्र लगायका उच्च पहाडी भूभागमा हिमपात भएको छ।

डोल्पाको सदरमुकामसहित शे–फोक्सुण्डो, गाउँपालिका डोल्पोबुद्ध, गाउँपालिका, थार्कातानसेन गाउँपाालिकालगायत जिल्लाका अधिकांश स्थानमा भारी हिमपात भएको छ।

मनाङको, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका स्थानमा भारी हिमपात भएको छ। हुम्लाको सदरमुकाम सिमिकोटलगायत मुचु, लिमी, नाम्खा, चालामा हिमपात भएको छ।

सोलुखुम्बुको पनि माथिल्लो भूभागमा हिमपात भएको छ । नाम्चेको माथिल्लो भूभाग तथा जिल्लाको अधिकांश उपल्लो भूभागमा हिउँ परेको छ।

दोलखाको खरिढुंगा, कालिञ्चोक, गौरीशंकर, शैलुङ, हिमपात भएको छ, भने पर्वतको मोदी गाउँपालिका, जलजलाको माथिल्लो भेग, हम्पालको लेक, चिसापानीको लेक, लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, पञ्चासे, डहरे क्षेत्रमा हिउँ परेको छ।

वायुको न्यून चापीय प्रणाली पश्चिमबाट प्रवेश गरेका कारण पूर्वका जिल्लाहरूमा भने हिमपात नभएको र शुक्रबारबाट वर्षा र हिमपात हुने मौसमविद् कमलीको भनाइ छ।

‘वायुको न्यून चापीय प्रणाली पश्चिमबाट प्रवेश गरेको कारण आज(विहीबार)सम्म पश्चिमी तथा मध्य क्षेत्रमा मात्र वर्षा र हिमपात भएको छ,’ उनले भनिन्, ‘शुक्रबार बिहानैदेखि सोलुखुम्बुबाट पूर्वतर्फ ताप्लेजुङसम्मै वर्षा र हिमपातको उच्च संभावना रहेको छ ।’
बुधबारदेखि भएको मौसम परिवर्तनका कारण देशभर जनजीवन प्रभावित बनेको छ। विहीबार पश्चिमबा शुरु भएको वर्षा तथा हिमपात शनिबारसम्म मुलुकभर हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार