धनगढी- कैलालीको चुरे गाउँपालिका ६ फल्टुडेमा लिफ्टिङ खानेपानी आयोजनाको सफल परीक्षण गरिएको छ। वर्षौ देखि खानेपानीको समस्या रहेको चुरे गाउँपालिकाको वडा नम्बर ६ फल्टुडेमा वगैचुला लिप्टिङ खानेपानी आयोजनाको परिक्षण सफल भएको हो।
तल्लो बगैचुलाबाट १२ सय मिटरमाथि रहेको फल्टुडेमा सोलार सिस्टमबाट खानेपानी ल्याएर उपभोक्तालाई वितरण गर्न थालिएकाे हाे एक हजार दुई सय घरधुरी उपभोक्तालाई लक्षित गरेर उक्त खानेपानी सञ्चालनमा ल्याइएको फल्टुडे बगैचुला लिप्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष किसन साउँदले बताए।
चुरे गाउँपालिका, प्रदेश सरकार र संघीय सरकार समेतको गरी १ करोड ३२ लाखको लागतमा निर्माण गरिएको उक्त खानेपानी आयोजनाका लागि दैनिक डेढ किलोवाट सोलोर बिजुली आवश्यक पर्ने अध्यक्ष साउँदले जानकारी दिए।
सो खानेपानी आयोजनाका लागि गाउँपालिकाको ८ लाख, प्रदेश सरकारको ५० लाख, संघीय सरकारको ३० लाख र संघीय सरकार मातहत रहकै बेला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीको ४४ लाख खर्च भएको छ। आयोजनाको सफल परिक्षणपछि घरघरमा मिटर वितरण, धारा जडानको कार्यलाई अघि बढाइएको छ। फल्टुटेमा खानेपानी नहुँदा त्यहाँका स्थानीयले तीन घण्टा पैदल हिँडेर खोलाबाट पानीको जोहो गर्दै आएका थिए।
यसैगरी, कैलालीको चुरे गाउँपालिका वडा नं. ३ मा ३५ लाखको लागतमा सहजपुर लिफ्टिङ खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेको वडाध्यक्ष टेकबहादुर शाहले बताए। उनका अनुसार सो खानेपानी आयोजनाबाट झण्डै तीन सय घरधुरी लाभान्वित हुनेछन्।
चुरेमा पछिल्लो पटक विभिन्न कारणले पानीका मुहान सुकेर जानथालेपछि खानेपानीको चरम अभाव देखिन थालेको छ। गाउँपालिकाले त्यहाँका स्थानीयबासिन्दालाई खानेपानीको व्यवस्थापन गर्न पानीका मुहान संरक्षणमा विशेष ध्यान दिँदै आएको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले बताए।





