काठमाडौं–१४ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको चक्रपथ सुधार आयोजना अन्तर्गत विस्तार भएको १० दशमलव ३९ किलोमिटर दूरीको कलंकी–कोटेश्वर सडकको ‘रोड सेफ्टी अडिट’ (सडक सुरक्षा अध्ययन) को तयारी थालिएको छ।

विस्तारित ८ लेनको सडकमा दुर्घटनाको जोखिम रहेको र सडक सुरक्षाका लागि आवश्यक पर्ने संरचना समेत निर्माण नगरिएको भन्दै तीव्र आलोचना भइरहेका बेला सडक विभागले विज्ञहरूमार्फत् ‘रोड सेफ्टी अडिट’ गर्न लागेको हो।
‘विज्ञ सम्मिलित टीम आइतबारदेखि फिल्डमा जान्छ। उक्त टीमले चक्रपथमा तत्काल र दीर्घकालीन रूपमा सुधार गर्नुपर्ने विषयमा सिफारिस गर्नेछ,’ सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक युनिटका प्रमुख दिप बाराहीले भने, ‘सोही आधारमा सुधारका काम गरिनेछ।’
सामान्यतयाः सडक सुरक्षा अध्ययन गरेर सोही आधारमा सडकमा गाडीको गति, चाप लगायत निर्धारण गरिन्छ, भने सिफारिसमा आधारमा सडकको सुधार समेत गरिन्छ। सन् २०१४ मा पनि सुदूर र मध्यपश्चिमका केही सडकको ‘सडक सुरक्षा’ अध्यनन गरेर सोही आधारमा सुधार गरिएको थियो।
हाल विस्तारित ८ लेनको चक्रपथमा मुख्य ४ वटा लेनमा तीव्र गतिमा (प्रतिघण्टा ५० किलोमिटरका) दर गाडी हुइँकिदा त्यसका दायाँ–बायाँ थप २-२ लेन (सर्विस लेन) मा प्रतिघण्टा ३० किलोमिटरका दरले गाडी गुड्ने गरी संरचना बनाइएको छ। बाँकी २ लेन फुटपाथ रहेपनि साँघुरो छ। मिड लेनको चौडा ज्यादै कम छ, भने साइकल लेन नै छैन। यसैगरी, ग्रीन बेल्ट पनि छैन।
विस्तारित चक्रपथ प्रतिलेन ३ दशमलव ५ मिटरको छ। ० दशमलव ५ मिटरको मिड लेन तथा २ दशमलव ५ मिटरको साइडवाक (फुटपाथ) छ ।
पाटनढोकामा २२ माघमा आयोजित एक कार्यक्रममा वातावरण इन्जिनियर भुषण तुलाधरले सुझाएका थिए, चक्रपथ सबैको बनाउन अहिलेको संरचनालाई नभत्काइ सुधार गर्न सकिन्छ, गाडीको लेन घटाऔँ, मिड लेन चौडा बनाऔँ। त्यसो गर्दा साइकल लेन पनि बन्छ।’
सडक सुरक्षा तथा ट्राफिक युनिटका प्रमुख बाराही विज्ञ सम्मिलित टीमले करीब एक महिना लगाएर अध्ययन गर्ने र सोही आधारमा सुधारका काम गरिने बताउँछन्। चीनको संघाई ग्रपले २०७० असारदेखि विस्तारको काम सुरु गरेकोमा १४ माघमा चिनियाँ राजदुत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी थिइन्।
तर, सडकमा मिडलेन एकदमै साँघुरो त छँदैछ, साइकललेन, बस स्टप छैन। पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूले कार्यक्रममा भनेका थिए, ‘ठूलो लगानी गरेर सडक बनाइयो। तर, सडक सुरक्षाका बारेमा ख्याल गरिएन। हालै मात्र सेवानिवृत्त भएका उनी भन्छन्, ‘८ लनको सडकमा पनि ट्राफिक प्रहरीले हातको इसारामै काम गरिरहनु परेको छ, जुन जोखिमपूर्ण छ।’ उनका अनुसार काठमाडौं उपत्यकामा औसतमा दैनिक ७ वटा दुर्घटना हुने गरेकामा सबैभन्दा बढी चक्रपथमा हुन्छ।
बाराही सडकमा ट्राफिक बत्ती र सडक बत्ती र बस बिसौनीसँगै पर्याप्त जेब्रा क्रसिङ राख्ने काम सिफारिसका आधामा तत्काल हुने र बाँकी दीर्घकालीन रूपमा सुधार गरिने बताउँछन्। शहरी सडकमा २ सय ५० मिटरभित्र जेब्राक्रसिङ बनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेपनि नेपालमा कार्यान्वयन हुन सकेको छैन।





