रियो डे जानेरो – ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेका छन्। ती समेत गरी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको बताइएको छ।
उक्त दुर्घटनामा परी अझै पनि १८२ व्यक्ति वेपत्ता रहेको प्राकृतिक प्रकोप विभागले जानकारी दिएको छ।
यस घटानामा ज्यान गुमाउने र वेपत्ता भएका व्यक्तिको पछिल्लो विवरण नागरिक प्रतिरक्षा निकायले बुधबार सार्वजनिक गरेको बताइएको छ।
यसअघि दिइएको जानकारीअनुसार करिब ३०० व्यक्ति हराइरहेका थिए। बेपत्ता भएका व्यक्तिका शवहरु फेला परेपछि सो सङ्ख्या १५० पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जिवीतै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फ्भिओ गडइनडोले बताए।
बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसङ्ख्या प्रभावित भएका छन्। बाँध भत्किएको यस इलाकामा करिब ४ सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ।
उद्धार प्रयास निरन्तर भइरहेको भए तापनि घटनामा परेका व्यक्तिहरू जिवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताए।
यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो।
त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए । यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन्। सिन्ह्वा