काठमाडौं–सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालीयन कम्पनी सीएमसीसँगको ठेक्का रद्द गरेको बताएपनि आशा अझै मारेको छैन।
सीएमसी आयोजना समाप्त नहुँदै काम छाडेर गएपछि ‘ठेक्का खारेजी किन नगर्ने?’ भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन गत ६ माघमा सरकारले पत्राचार गरेको थियो। तर, उक्त समयावधि मंगलबार घर्किए पनि मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधिहरूबीच वार्ता भइरहेको छ।
बिहीबारसम्म थप छलफल गर्न सिएमसीसँग सिंगापुरमा वार्ता भइरहेको जनाइएको छ। खानेपानी मन्त्रालयका एक अधिकारीले भने, ‘सीएमसीसँगको ठेक्का रद्द नै गरेमा फेरि नयाँ ठेक्का लगाउनु पर्ने र लामो प्रक्रिया हुने हुँदा आयोजना झन लम्बिने देखिन्छ। त्यसैले अन्तिम प्रयास स्वरुप वार्ता थालिएको हो।
स्रोतका अनुसार आयोजनाका उपकार्यकारी निर्देशक वार्ताका लागि आयोजनाका उपप्रमुख भोजविक्रम थापा, खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई, मेलम्चीमा सामान आपूर्तिकर्ता दीननेश श्रेष्ठ लगायत गत शुक्रबार त्यतर्फ गएका थिए।
सीएमसी कम्पनीले राखेका केही मागका विषयमा छलफल भइरहेको छ। १२ वैशाख २०७२ को भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि आफूहरुले बढी काम गर्नुपरेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिएभन्दा बढी काम गरेको भन्दै निर्माण क्षतिपूर्तिको माग गर्दै आएको थियो। जुन विषयमा खानेपानी मन्त्रालयले असहमति जनाउँदै आएको थियो।
सुरुङमार्गमा सरफेस ढलान, फिनिसिङ जस्ता काम गरेर पानी हाल्नका लागि योग्य बनाउनुपर्ने भएपनि हेडबक्स निर्माण थालिएकै छैन। गत चैत २७ गते सिन्धु–ग्याल्थुम ७.५ किमी ब्रेक थ्रुु भएसँगै करीब २७ किलोमिटर लामो सुरुङमार्ग पुरै छिचोलिए पनि कतिपय स्थानमा फिनिसिङको काम अझै बाँकी छ।





