Friday, September 20, 2024

सडकमा नैतिकता

सडक सार्वजनिक सम्पत्ति हो। मान्छेलाई चाहिने अधिकतम सेवा सडकको माध्यमबाटै आउने÷जाने गर्छ। नेपालमा मुख्यतय यातायातको माध्यम सडक हो। यसका साथै सडक प्रदर्शन, र्‍याली, विरोध प्रदर्शन गर्ने माध्यम पनि हो।

विश्वमा सडकलाई नै विरोध र समर्थन गर्ने उपयुक्त माध्यम मानिएको देखिन्छ। तर, यसको कार्यान्वयनमा व्यापक भिन्नता छन्। बेलायत, अमेरिका, जर्मनी जस्ता देशमा विरोध प्रदर्शन सडकमै हुन्छ। यस्ता कार्यक्रम सम्बन्धित निकायको अनुमतिमा मात्र गरिन्छ। प्रदर्शनी केवल कुनै निश्चित समयमा र निश्चित सडकखण्डमा मात्र गर्ने अनुमति दिइन्छ। सरोकार निकायले सोही अनुरुप मानिस तथा सवारीसाधनको आवतजावतको अधिकारलाई सुनिश्चित गर्न आवश्यक व्यवस्थापन गरी ट्राफिक सञ्चालन यथास्थितिमा नै कायम गर्छन्।

तर, नेपालमा यस्तो परम्परा/सडक सभ्यता छैन। यहाँ सानोभन्दा सानो असन्तुष्टिमा पनि सडकमा प्रदर्शन हुन्छन्। सडक ठप्प पार्न कुनै निकायबाट स्वीकृति लिनुपर्ने बाध्यकारी नीति-नियम छैन। तर, कानुनले स्वतन्त्र रुपमा एक ठाउँबाट अर्को ठाउँमा निर्वाध आवतजावतको ग्यारेन्टी भने गरेको छ। यसको कार्यान्वयन भने सरोकारवाला निकायले गर्न सकेको छैन।

ट्राफिक इञ्जिनियर आशिष गजुरेल।

उदाहरणका लागि इन्धनको मूल्यवृद्वि हुँदा विद्यार्थी प्रदर्शनीमा निस्कन्छन् र सडक यातायात आवतजावतमा अवरोध पुर्‍याउँछन्। नेपालको कानुनले विरोध प्रदर्शन गर्ने अधिकार दिएको छ, जुन सुरक्षित पनि छ। तर, यसो गर्दा मानिसको खुलारुपमा आफ्नो गन्तव्यसम्म पुग्ने अधिकारको हनन् भइरहेको हुन्छ, यसबाट कसैले कानूनले दिएको आधिकार त उपभोग गर्न पाउँछन् तर, अरुलाई भने अवरोध पुगिरहेको कुरा भने भुल्छन्। दुवै पाटोको मौलिक अधिकारको संरक्षण गर्नु आजको आवश्यकता हो।

प्रदर्शनकारीले नियम कानूनमा रहेर प्रदर्शन गर्न कुनै रोक हुन्न तर, यसको मतलब उनीहरूको माग पूरा गराउन सडक यात्रीलाई घण्टौसम्म बन्धक बनाएर राख्नु मनासिव छैन। सडक बन्द र हडतालले सर्वसाधारण बालबालिका, बिरामी तथा वृद्घवृद्धालाई सडकमा अनावश्यक दु:खपीडा भोग्न बाध्य गराउँछ। यस्ता कार्यलाई निरूत्साहित गर्न सम्बन्धित निकाय साथै सम्बन्धित पक्षले आवश्यक कदम चाल्न जरूरी छ। नेपाल सरकारले यथाशीघ्र आवश्यक नीति विकास गरेर कार्यान्वयन गर्नुपर्छ जसले प्रदर्शनकारीको अधिकारको संरक्षण गर्दै आमजनताको यातायातसम्बन्धित मौलिक हक तथा आधिकारको पनि संरक्षण गरोस्।

यसका लागि प्रदर्शन कुनै निश्चित सडकखण्डमा र निश्चित समयको लागि सम्बन्धित निकायको स्वृकीतिमा मात्र गर्ने अनुमति दिनुपर्छ। साथै प्रदर्शनकारीले पनि सर्वसाधारणलाई प्रदर्शनबारे अग्रिम सूचना प्रदान गर्नुपर्छ जसले गर्दा उनीहरू गन्तव्यसम्म पुग्न यसै अनुरूप योजना तय गर्छन। सोही समयमा ट्राफिक व्यवस्थापन निकायले सडक यातायातको व्यवस्था गर्नुपर्छ जसले गर्दा ट्राफिक आवतजावतमा पनि कुनै अवरोध नआओस् र यातायातको सुनिश्चित सञ्चालन समेत हुन सकोस्।

क्यानडा, अस्ट्रेलिया, पेरू, कोलम्बिया आदि मुलुकमा बिदाको दिन पारेर ‘गाडीमुक्त दिन’ कार्यक्रम गरिन्छ, त्यो दिनमा निश्चित सडकखण्डमा ट्राफिक रोक लगाइन्छ। र, सर्वसाधारणलाई हिँड्न, खेल्न, घुम्न अनुमति दिइन्छ। सोहि समयमा बन्द गरिएको सडकको विकल्पको रूपमा अर्को रुट योजना गरिन्छ जसले गर्दा आपतकालीन यातायातमा अवरोध हुँदैन। यस्ता कार्यक्रमले इन्धनको बचत गर्छ वातावरणको हानी कम गराउँछ। मानिसलाई हिँडडुल गर्न उत्प्रेरित गराउँछ जुनचाहि स्वास्थको दृष्टिकोणले पनि राम्रो हो।

नेपालको सडकमा पनि यस्ता कार्यक्रमको विकास गरी बन्द, हडताल जस्ता क्रियाकलापलाई निरूत्साहित गर्नु आजको आवश्यकता हो।

नेपालमा बन्द, हडतालको दिन सामाजिक तथा आर्थिक क्रियाकलापमा अवरोध पुर्‍याइन्छ। मानिसहरूलाई काममा जान रोक लगाइनुको साथै सामाजिक क्रियाकलापमा पनि जबरजस्ती अवरोध पुर्‍याइन्छ। यस्ता कार्य गलत हुन जसलाई सुधार गर्नु र निरुत्साहित गर्नु आवश्यक छ।

नेपालमा प्रायः दोहोरिने घटना हो खाना पकाउने ग्यासको सिलिन्डरको मूल्यवृद्घि हुँदा। मूल्यवृद्धि घोषणासँगै सबै नेपालीहरुले असहज स्थिति भोग्नुपर्छ, मानिसहरुले यस्तो दुःख खेपिरहेको समयमा प्रदर्शनले झन संकट निम्त्याउँछ। बाधा अवरोध सृजना गरेर अझ जीवन कष्टकर बनाउनु कतिको उचित होला ?

यस्ता काम आममानिसको लागि घाउमा नुन छर्किनु बराबर हुन जान्छ। कहिलेकाहि प्रदर्शन यति उग्र हुन्छ कि एम्बुलेन्सलाई समेत निषेध गराइन्छ। सामाजिक तथा आर्थिक क्रियाकलापको लागि यातायात व्यवस्थापनको ठूलो योगदान हुन्छ। आफ्नो नातेदार, साथीसँग भेटघाट, अस्पताल जान, स्कुल जानदेखि आर्थिक क्रियाकलाप जस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार, उत्पादन बिक्री आदिको विकासको लागि यातायातले नै प्रमुख भूमिका निर्वाह गर्छ। देशको सर्वाङ्ग विकासका लागि यातायातलाई बाधा गर्नुहुन्न।

त्यसैले विरोध प्रदर्शनको लागि निश्चित सडकखण्ड र निश्चित समय तोकिनु पर्छ र यसको लागि सम्बन्धित निकायबाट अगावै स्वृकीति लिनुपर्छ। जसबाट हुनजाने ट्राफिक अवरोधलाई पूर्ववत योजना बनाएर ट्राफिक निकायले ट्राफिक सञ्चालनको सुनिश्चितता गर्नुपर्छ। सबैले कानूनी शासनको पालना गर्नुपर्छ।

(गजुरेल ट्राफिक इन्जिनियर हुन्)

लेखकबाट थप
नेपालमा सडक दुर्घटनाका कारण र सुरक्षा उपाय
यसरी गर्न सकिन्छ काठमाडौंको यातायात व्यवस्थापन

ताजा समाचार

सम्बन्धित समाचार