काठमाडौं– १५ दिन अघिदेखि केही कमजोर बन्दै गएकाे पश्चिमी बायु फेरि सक्रिय बन्दा देशैभर वर्षा हुने भएको छ।
यसअघि ९ माघमा देशैभर वर्षा भएकोमा त्यसयता फाटफुट मात्र पानी परेको थियो। तर, जाडोयाम सकिँदै जाँदा बिहीबार फेरि वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘हिउँदयाममा वर्षा हुने पश्चिमी बायुको प्रभावले हो। यो वायु फेरि सक्रिय बनेको छ। बिहीबार देशव्यापी रुपमा पानी पर्ने देखिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘देशव्यापी हल्कादेखि मध्ययम खाले वर्षा भएपनि १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।
कुन क्षेत्रमा भारी वर्षा हुन्छ भनेर यकिन भन्न नसकिने भएपनि पश्चिमी वायुका कारण वर्षा हुने भएकाले पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको उनले बताइन्।
‘पश्चिमी क्षेत्रका केही स्थानमा बुधबारदेखि नै वर्षा हुने देखिन्छ, मध्य क्षेत्रमा रातिदेखि शुरु हुनेछ,’ उनले भनिन्, ‘बिहीबार काठमाडौंसहित देशव्यापी वर्षा हुने देखिन्छ। जसको प्रभाव स्वरुप बुधबार काठमाडौंको मौसम पनि सफा देखिएको छैन।
मौसम पूर्वानुमान महाशाखा, बाढी पूर्वानुमान शाखाले पनि बुधबार विज्ञप्ति जारी गरेर सचेत रहन अपील गरेको छ।
उसले भनेको छ, ‘उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहौं। पहाडी क्षेत्रका ससाना खोलामा आकस्मिक बहाब प्रबाह हुन पनि सक्छ।’
गत जनवरीमा १९ दशमलव ७ मिलिमिटर वर्षा भएकोमा फेब्रअरीको मंगबलारसम्म पानी परेको छैन। जनवरीमा औसत वर्षा १४ दशमलव ४ मिलिमिटर र फेब्रअरीको औसत वर्षा १८ दशमलव ७ मिलिमिटर हो।
अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई पानी पर्ने देखिएको हो। ‘डिसेम्बर, जनवरी र फेब्रअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’ लाई प्रिःमनसुन अवधि मानिन्छ। अहिले विन्टर हो।
पश्चिमी वायूको प्रभावले २३ पुसमा काठमाडौं उपत्यकामा यो वर्ष पहिलो हिउँदे वर्षा भएको थियो।





