काठमाडौँ–सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य ठप्प पारेर स्वदेश भागेको इटालियन ठेकेदार कम्पनी सिएमसीको सम्झौतापत्र रद्द गरेको छ।
मंगलबार खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ/ललितपुर महानगरपालिका लगायत दातृ निकायसँग छलफल गर्दै सरकारले सिएमसीसँगको सम्झौतापत्र रद्द गरेको हो।
अंग्रेजी नयाँ वर्ष मनाउन भनेर इटली गएको ठेकेदार कम्पनी नफर्केपछि सरकारले ७ माघमा १४ दिने समयावधि तोक्दै काममा फर्कन सिएमसीलाई पत्र लेखेको थियो।
मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुन केही प्रतिशत मात्रै बाँकी रहँदा सिएमसीले काम छाडेपछि सरकारले बाँकी काम कसरी अगाडि बढाउने विषयमा छलफल गर्न बसेको बैठकले सिएमसीसँगको सम्झौता रद्द गरेपनी बाँकी कामको टुंगो भने लगाएको छैन।
हाकाहाकीसँग कुरा गर्दै मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँकी कामको विषयमा छलफल गर्न अर्को बैठक बसिने बताउँदै आयोजनाको काम केही प्रतिशत मात्रै बाँकी रहेकाले निर्माण कार्य नेपाली निर्माण कम्पनी अथवा सेनालाई दिने भन्ने विषयमा टुंगो नलागेको जानकारी दिए ।