Monday, November 18, 2024

सुर्खेतमा शहिद स्मारक बनाउँदै कर्णाली प्रदेश

वीरेन्द्रनगर– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदको स्मृतिमा राजधानी सुर्खेतको मुख्य चोकमा स्मारक निर्माण गरिने बताएका छन्।

शहिदहरुको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएको उल्लेख गर्दै उनले शहिदको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको बताए। मुख्यमन्त्री कार्यालयमा प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा भएका घाइते अपाङ्गको मागपत्र बुझ्दै मंगलबार उनले घाइते तथा अपाङ्गका लागि पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

विसं २०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएका घाइतेहरुले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै मुख्यमन्त्री शाहीसँग गुनासो गरेका छन् । उनीहरुले घाइते भइसकेपछि उपचारका लागि हवाईजवाज चार्टरसमेत आफन्तले गरेका र चार्टरको भाडा अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै भाडा भुक्तानीको माग गरेका छन् ।

घाइतेहरुले मुख्यमन्त्री शाहीसँग थप उपचारको व्यवस्था, आफू र परिवारको योग्यताबमोजिम जीविकोपार्जन तथा रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको समेत माग गरेका छन् । प्रदेश निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका दुई जिल्ला तथा सुदूरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो ।
भेरी, कर्णाली र राप्तीका दुई जिल्लासहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो । सोही आन्दोलनका क्रममा सरकारले बल प्रयोग गर्दा सुर्खेतमा चार जनाको मृत्यु हुनुका साथै धेरैको सङ्ख्यामा घाइते तथा अपाङ्ग भएका थिए । रासस

ताजा समाचार

सम्बन्धित समाचार