Monday, November 18, 2024

जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम अघि बढाउनु पर्छ : राष्ट्रपति भण्डारी

चितवन – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम अघि बढाउनुपर्ने बताएकी छिन्।

आदिकवि भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव मूल समारोहको मंगलबार उद्घाटन गर्दै उनले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सर्वत्र परिरहेको बताइन्।

उनले जलवायु परिवर्तनको सन्दर्भमा नदी प्रणालीलाई व्यवस्थित गरी जलावायु अनुकूलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताइन। उनले भने “यस अवस्थामा यहाँका शैक्षिक संस्थाहरूले वातावरण संरक्षण र जैविक विविधता प्रवद्र्धन गर्ने शिक्षा प्रदान गर्न सके उत्पादित शैक्षिक जनशक्तिले स्थानीय रुपमा रोजगारी पाउँछ।”

शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको सन्देश दिने भएकाले शैक्षिक प्रतिष्ठानहरु यसमा संवेदनशील बन्नुपर्ने उनले बताइन्। आगामी केही वर्षभित्र नेपाललाई अतिकम विकसित राष्ट्रबाट मध्यम आयभएको मुलुकको स्तरमा विकसित गर्ने राष्ट्रिय लक्ष्य रहेको भन्दै उनले गुणस्तरीय शिक्षाको आवश्यकता झनै खड्किएको बताइन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिइन्। सो अवसरमा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पछिल्लो समय विद्यालयले गरेको प्रगतिको प्रशंसा गरे।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारी, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा, समितिका सल्लाहकार शैलेन्द्र पियालगायतले बोलेका थिए।

विसं २०२५ सालमा स्थापना भएको विद्यालयमा हाल एक हजार ४०० विद्यार्थी अध्ययनरत् छन्। विद्यालयले उच्च शिक्षामा प्राविधिक शिक्षासमेत पढाउँदै आएका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार