पत्रपत्रिकामा आज : फोहोरबाट मोहर बनाउँदै, खानेपानीको धारामा ताल्चा

काठमाडाैँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
राजधानी
–आजको राजधानीमा काठमाडौँ–तराई मधेस द्रुतमार्गः डीपीआरको मस्यौदा तयार शिर्षकमा महेश्वर गौतमको समाचार छापिएको छ । काठमाडौँ–तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार भएको छ। कोरियाली परामर्शदाताको कम्पनी सुसुङ डीपीआरको मस्यौदा तयार गरेर नेपाली सेनालाई बुझाइसकेको छ।

नेपाली सेना र कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनीबीच २० माघभित्र डीपीआर बनाउनेगरी १६ असोजमा सम्झौता भएको थियो। सुसुङले सम्झौताअनुसार नै आइतबार राती सेनालाई डीपीआरको मस्यौदा बुझाएको हो।

त्यस्तै फोहोरबाट मोहर बनाउँदै शिर्षकमा सविन शर्माको समाचार छापिएको छ। बिहानै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको माकलबारीमा एक वयस्क युवा होटलमा दूध, तेल र चाउचाउको खोल संकलन गर्न पुग्छन् । उनले त्यही होटलबाट चिया पकाएर फालेको चियापत्ति पनि संकलन गर्छन् । हरेक दिन बिहान मर्निङ वाकको समयमा यस्तो कार्य गर्ने व्यक्ति हुन् सिन्धुलीका रामहरी श्रेष्ठ ।

फोहोरमा फाल्न लागेको दूधको प्याकेट, तेलको प्याकेट र चाउचाउको खोल संकलन गरेपछि श्रेष्ठ झोलाभरि बोक्दै घरमा पुग्छन् । उनले यसो गर्नुको मुख्य कारण हो खेर जाने यस्ता वस्तुको पुनरप्रयोग गर्नु । गोकर्णेश्वर नगरपालिका–८ मा बसोबास गदै आएका उनले त्यो फोहोरलाई घरमा पुर्याउँछन् ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा खानेपानीको धारामा ताल्चा शिर्षकमा समाचार छापिएको छ । तनहुँको भानु नगरपालिका–१३ बासपानीको खानेपानी समस्या नियन्त्रण गर्न तल्लो बासपानी खानेपानी उपभोक्ता समितिले धारामा ताल्चा लगाउन थालेको छ । खानेपानीको मूल सुक्न थालेको र भएको पानी पनि दुरुपयोग हुन थालेपछि समितिले धारामा ताल्चा लगाउने निर्णय गरेको हो । बिहान र बेलुका मात्रै धाराको ताल्चा खोलिने गरिएको छ।

समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले खानेपानीको ट्यांकी सानो हुनुका साथै मूलबाट पर्याप्त मात्रामा पानी नआएका कारण खानेपानी संकट टार्न धारामा ताल्चा लगाउन थालेको बताए । ‘जथाभावी धारा खोलिने र भएको पानी पनि खेर जान थालेपछि दुरुपयोग रोक्न धारामा ताल्चा लगाएका हौँ,’ उनले भने, ‘संकलन भएको पानी बिहान–बेलुका मात्रै खोल्ने गरेका छौं ।’

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा महेन्द्र राजमार्ग व्यक्तिको नाममा ‘पास’ शिर्षकमा सञ्जय कार्कीको समाचार छापिएको छ। ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ। पुर्ब पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ। राजमार्गसंग जोडिएको जमिनको राजश्व र राजमार्ग नभएको जमिनको राजश्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो।

ताजा समाचार

सम्बन्धित समाचार