सन् २१०० सम्म दुई तिहाइ हिमनदी पग्लिने चेतावनी

काठमाडौं–जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक भएको छ।

The Hindu Kush Himalayan region and 10 major river basins.
source : Icimod Nepal

हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुने देखिएको छ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १.५ डिग्री तापक्रममा सीमित गर्ने लक्ष्य राखेको छ तर, तापक्रम वृद्धिदर भने सोही अवस्थामा रहन्छ कि रहँदैन भन्ने आशंकासमेत रहेको छ।

विश्वको तेस्रो धु्रवका रुपमा रहेको सगरमाथा, माउण्ट के टुजस्ता उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा जानेले समेत ती क्षेत्रमा उच्च दरमा हिउँ पग्लिरहेको पाइएको उल्लेख गर्दै प्रतिवेदनमा एक तिहाइ बढी हिमनदी समस्यामा परेको पाइएको बताएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बसोबास गर्दै आएका २५ करोड तथा नदी किनारमा बस्दै आएका एक अर्ब ६५ करोड नागरिक सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनले औँल्याएको छ।

जलवायु परिवर्तनका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत खानेपानीको समस्या हुने र त्यसबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै प्रतिवेदनमा हिमाली क्षेत्रमा बढेको वायु प्रदूषणका कारण अन्य समस्या पनि देखिने जनाएको छ।

यस्तै, मनसुनमा पनि पानी नपर्दा शहरी खानेपानी प्रणालीमा मात्रै नभई खाद्य तथा ऊर्जा उत्पादनमा समेत केही समस्या उत्पन्न हुनेछ। इसिमोडले अन्तर सरकारी जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन, हिन्दूकुश हिमालय क्षेत्रमा भएका अध्ययन तथा खोज, ३ सय ५० अध्ययनकर्ताको प्रतिवेदन, २२ देशका १ सय ८५ संघसंगठनको खोजका आधारमा प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ।

हिन्दूकुश क्षेत्रले तीन हजार ५०० किलोमिटर क्षेत्र ओगटेको छ । त्यसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तान पर्दछ। यस क्षेत्रमा उच्च हिमशृङ्खला, हिमनदी र १० भन्दा बढी ठूला नदी प्रणाली रहेका छन्। त्यसमा गङ्गा, इन्दुज, यल्लो जस्ता नदी पर्दछन्।

साेमबार प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले हिमालय विश्वको साझा सम्पदा भएको र करोडौँ जनताको जीवनसँग जोडिएकाले यसको संरक्षणका लागि क्षेत्रीयस्तरमा समन्वय र सहकार्य आवश्यक रहेको बताए।

इसिमोडका उपमहानिर्देशक एकलव्य शर्माले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालय क्षेत्रमा परेको र यसले विभिन्न चुनौती ल्याएको उल्लेख गर्दै त्यसको समाधानका लागि विज्ञान, राजनीति र नीतिबीच समन्वय खोज्न प्रतिवेदनले विभिन्न विकल्पहरु दिएको उल्लेख गरे। रासस

ताजा समाचार

सम्बन्धित समाचार