पशुपतिनगर – पश्चिमी इलामका बासिन्दा सडक, खानेपानी, विद्युत्, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नपाएर पिरोलिएका छन्। धुले सडकबाट हिउँदका सात महीना सदरमुकामसँग जोडिने पश्चिमी इलामका बासिन्दालाई बर्सातमा समुद्रको टापुमा बसेसरह हुन्छ।
महाभारत पर्वतको बायाँ पर्ने जिल्लाको फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकावासीले इलाम विकासमा अगाडि रहेको ‘सुगमताको’ बिल्ला मात्रै भिरेका छन्। स्थानीय सरकार गठन भएको डेढ वर्ष बिते पनि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत् विस्तारको काम नहुँदा जनता समस्या झेल्न बाध्य भएको फाकफोकथुम गाउँपालिका आमचोकका कृष्णप्रसाद खनालले बताए।
मेचीराजमार्गको कालोपत्र छोडेर ३६ किलोमिटर यात्रामा पुग्न सकिने फाकफोकथुम गाउँपालिकाको केन्द्र रहेको आमचोकमा शुद्ध खानेपानी, विद्युत्को केन्द्रीय प्रसारण र सडककै भरपर्दो व्यवस्था छैन। हिउँदमा धुलो उडाउँदै कुद्ने गाडी बर्सातमा ठप्प हुँदा बिरामीको उपचारका लागि ‘स्ट्रेचर’ खोज्नुपर्छ। तीस करोड ३७ लाख बढी बजेट विनियोजन गरेको गाउँपालिका आफैँ भौतिक संरचनाविहीन छ।
पञ्चायतकालीन चारकोठे भवनमा केन्द्र रहेको गाउँपालिकाको ६ वडा भाडामा चल्दै आएका छन्। भौतिक, प्रशासनिक र विकासका पूर्वाधार अभावले जेलिएको गाउँपालिकामा जनप्रनिधि निर्वाचित भएर आए पनि डेढ वर्ष बित्दा आफ्नो सम्भावना र विकासको गुरुयोजना बनाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताए। साविक पाँच गाविस समायोजन गरी गाउँपालिका घोषणा गरिए पनि स्तरोन्नति भएका सडकहरू निर्माण नहुँदा वर्षमा सात महीना मात्रै सडकमा गाडी गुड्ने गरेका छन्।
सदरमुकामदेखि ६५ किलोमिटर पश्चिममा रहेको गाउँपालिकाको केन्द्र विवादले मुख्य प्रशासनिक भवन निर्माणको काम अन्योल रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।
जनप्रतिनिधि निर्वाचित भएको दोस्रो आर्थिक वर्षको बजेट विनियोजनले सबै वडादेखि केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले बताए। स्थानीय तहमा अधिकार भए पनि विकासको हिसाबले अत्यन्त पछाडि रहेकाले गाउँपालिकाको विकास बजेटले परिवर्तनको अनुभूति आउन नसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ। “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सबै हिसाबले पिछडिएको फाकफोकथुमलाई पाँच वर्षमा परिवर्तन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उनले भने।
केन्द्रीय प्रसारण लाइनले जोडिए पनि ८० प्रतिशत क्षेत्रमा विद्युत् नपुगेको फाकफोकथुममा विद्युत् विस्तारका लागि ४ र ५ नं वडामा काम भइरहेको गाउँपालिकाका उपाध्यक्ष शरु राईले जानकारी दिए। पुराना खानेपानी आयोजना मर्मत नहुँदा गाउँपालिकावासीले शुद्ध खानेपानीको उपभोग गर्न पाएका छैनन्। “इलामको ‘कर्णाली’ मानिएको पश्चिमी क्षेत्र विकासका पूर्वाधारदेखि खानेपानी, शिक्षा र स्वास्थ्यमा पछाडि छ”, स्थानीय गोविन्द लामिछाने भने, “सदरमुकामसँग जोड्न र भौतिक पूर्वाधार विकास गर्न स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिबाट संयुक्त सम्बोधन नभए कुनै एक सरकारको बजेटले मात्रै परिवर्तन नहुने देखिन्छ।”रासस