Monday, November 18, 2024

पर्वतमा नमूना खानेपानी आयोजना

पर्वत – लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ।

कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना शुरु भएको हो। मोदीखोलाको किनारमा रहेको सिल्मीको छिपछिपे मूलको पानी ट्याङ्कीमा सङ्कलन गरी गाउँसम्म लिफ्टमार्फत तान्ने तयारीस्वरुप आयोजनाको निर्माण कार्य शुरु गरिएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमार्फत आयोजना निर्माण सम्पन्न हुन लागेको हो।

कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार आयोजनाको कूल लागत रु साढे ६ करोड रहेको छ। पीपलटारीका ३०० परिवार आयोजनाबाट लाभान्वित हुने जनाइएको छ। मूलदेखि एक हजार ९८० मिटर माथि रहेको बस्तीसम्म पानी पु¥याउन तीन वटा ट्याङ्की निर्माण गरिने भएको छ। दुई चरणमा पानी पम्प गरेर गाउँसम्म पु¥याउन थालिएको डोटेलले जानकारी दिए।

उक्त योजना दुई वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ । योजनाको पानी पीपलटारीका पिप्ले, वितलब, माझीगाउँ, गैरावारी, चाक्लेकुला, रोहोटेपानी, तमादी लगायतका बस्तीमा एक घर एक धारामार्फत वितरण गरिने छ। आयोजनाका लागि यस वर्ष रु ४५ लाख विनियोजन भएको छ भने अर्को वर्ष योजनाको लागतअनुसारको बजेट विनियोजन गरिने बताइएको छ।

आयोजनाको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन्। आयोजना निर्धारित समय अगावै सक्न निर्देशन दिँदै उनले स्थानीयवासीको खानेपानीको समस्या टार्न आयोजना सफल हुने बताए। उनले नेपालमा कुनै पनि विकासका आयोजना समयमै पूरा नहुने समस्या बढ्दै गएकामा असन्तुष्टि व्यक्त गरे।

पर्वतमा यसअघि जलजलाको माझफाँट, कुश्मा नगरपालिकाको ठूलीपोखरी र महाशिला गाउँपालिकाको होश्राङदीमा लिफ्ट खानेपानी योजना सञ्चालनमा आएका छन्। पानीको स्रोत नभएका ठाउँमा सो प्रविधि लाभदायी हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख डोटेलले जानकारी दिए। रासस

ताजा समाचार

सम्बन्धित समाचार