Monday, November 18, 2024

पत्रपत्रिकामा आज : ग्रामीण सडकमा डोजर प्रतिबन्ध, जथाभावी विकासले विपत्ति निम्त्याउँदै

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
आजको कान्तिपुरमा सार्नुपर्ने बस्तीमा घर बनाउँदै शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको छ । भूकम्पकै दिन रुबी भ्याली ४ हिन्दुङका ९६ घरधुरीलाई २ वटा पहिरोले घेर्‍यो । बस्तीको सिरानदेखि पुछारसम्म गएका २ वटा पहिरोले एउटा टोल पहिरोकै बीचमा पर्‍यो भने अर्को टोल छेउमा । सिँचाइ हुने खेत सबै पुरिए । भूकम्पपछिका वर्षहरूमा पहिरोले ८ घरगोठ बगायो ।

भूकम्प गएको ३ महिना पछि पहिलो पटक पुगेका भूगर्भशास्त्रीहरूले हिन्दुङ बस्ती पूरै सानुपर्ने सिफारिस गरे । तैपनि बस्ती छोड्न स्थानीयले मानेनन् । उत्तरी भेकमा रहेको बहुमूल्य जडिबुटी बेचबिखन, चौंरी र भेडाबाख्रापालन, निगालो चोयाको घरायसी प्रयोजनका विभिन्न वस्तुहरूको व्यापार जंगली जनावरको सिकार यो बस्तीका मुख्य आकर्षण हुन् ।

त्यस्तै ग्रामीण सडकमा डोजर प्रतिबन्ध शिर्षकमा समाचार छापिएको छ । स्थानीय सरकारले प्रभाव मूल्यांकनबिना जथाभावी डोजर सञ्चालनमा रोक लगाएको छ । डोजरमार्फत जथाभावी सडक निर्माणपछिको क्षतिबाट पाठ सिकेर स्थानीय सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

वातावरणीय प्रभाव मूल्यांकन, सर्भेलगायत मापदण्डको बेवास्ता गरी बनाइएका सडकबाट अन्य पूर्वाधारमा क्षति भएपछि सबै स्थानीय तहले डोजर चलाउन रोक लगाएका हुन् । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जिल्ला भ्रमण क्रममा डोजर नचलाउने नीतिगत निर्णय गरी व्यवस्थित गर्न स्थानीय तहलाई अनुरोध गरेका थिए । जिल्लाका ६ वटै स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्यांकनबिना डोजरले सडक नबनाउने नीतिगत निर्णय गरेका छन् ।

राजधानी
– आजको राजधानी जथाभावी विकासले विपत्ति निम्त्याउँदै शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । नेपालमा विकास गर्ने विषयले ठूलो चर्चा पाइरहेको छ । विकासको मुख्य जोडबल भनेको नै सडक निर्माण गर्ने विषय बढी चर्चामा आइरहेको छ । विकासका लागि जहिले पनि सरकारले संरक्षित क्षेत्र तथा राष्ट्रिय वनको क्षेत्रलाई लिने गरेको छ । यसरी, हुने विकासले दीर्घकालसम्म असर पुग्ने सरोकारवालाहरूले बताउँदै आएका छन्।

पछिल्लो समय सरकारले नेपालको पूर्वी भागदेखि पश्चिमी भागसम्मको क्षेत्रलाई जोड्ने गरी तीन राजमार्गहरू निर्माणको क्रममा छ । पहिलो राजमार्ग भनेको मध्यपहाडी लोकमार्ग जुन हिमालय पर्वतको क्षेत्रबाट पूर्व–पश्चिम जोडिनेछ । यसैले हिमालय पर्वतमा डोजरहरू चलिरहेका छन् । यस्तै, हिमालय पर्वतभन्दा तल्लो भाग अर्थात् कान्छो पहाडका रूपमा रहेको चुरे क्षेत्रको माथिल्लो भागबाट सरकारले मदन भण्डारी लोकमार्गका रूपमा पूर्वदेखि पश्चिम क्षेत्रसम्म सडक बन्दै छ । यो सँगै तराई मधेसको तल्लो भाग हँुदै हुलाकी राजमार्ग निर्माण कार्य भइरहेको छ।

नागरिक
–आजको नागरिकमा काठ तस्करी बढेपछि कडा निगरानी शिर्षकमा समाचार छापिएको छ । राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

पछिल्लो समय जिल्लाका जुडिबेला र जंगलसैया रेन्जपोस्ट अन्तगर्तका राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो आएपछि वन कार्यालयले निगरानी बढाएको हो। जिल्ला वन कार्यालयका अनुसार काठ लोड गरिएका ना ३ ख ४१२८ र ना ३ च ५७३७ नम्बरका बोलेरो गाडी, बीआर ०५ एए ६७५४ नम्बरको प्लाटिना मोटरसाइकल र आठवटा साइकल नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ। यस्तै राष्ट्रिय वनबाट काठ तस्करी गरिहेका बेला कटहरिया नगरपालिका–९, बलुवाका राजकिशोर साहलाई पक्राउ गरिएको वन कार्यालयले जनाएको छ।

त्यस्तै सोलारले सजिलो जीवन शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । माडी नगरपालिका वडा नम्बर ९ को बस्ती कुसुमखोला जंगलले घेरिएको छ। एक सय ६० घरधुरी रहेको बस्तीमा विद्युत् सुविधा छैन। बस्तीको एक छेउबाट अर्को छेउको पुग्न एक घण्टाभन्दा बढी लाग्छ। बस्तीका धेरै घरमा सोलार राखिएको छ। २१ वर्षीया शान्ति चेपाङले पनि सोलार राखेर कुखुरापालन गर्न थालेकी छन्। ‘सयवटा (कुखुरा) राखेको थियो, अलि अलि मर्‍यो’, उनले भनिन्, ‘बचेर हुर्केको सबै यही गाउँमै बेच्यो।’

माडीको वडा नम्बर ५ रमाइलो डाँडाकी ५३ वर्षीया हरिकला पाठकको घरमा नौ वर्षअघि सोलार राखेपछि बिहानबेलुकी घरमा काम गर्न टुकी बत्ती बाल्नुपर्ने बाध्यता हट्यो। सोलार राखेको अर्को वर्ष उनले घरमा बायोग्यास बनाइन्। वर्षभरि चाहिने दाउरा जंगल गएर खोजेर ल्याउनुपर्ने काम घट्यो। ‘दाउराभन्दा बायोग्याँसले छिटो पाक्ने भयो’, उनी भन्छिन्, ‘पकाउन धेरै सजिलो, धुवाँमा बस्नुपरेन, भाँडो काला भएन।’

ताजा समाचार

सम्बन्धित समाचार