काठमाडौँ – ऐतिहासिक महत्त्व बोकेको कमलपोखरीमा अबको दुई वर्षमा फेरि पनि ढकमक्क कमलका फूल फुल्ने भएका छन्।
भूकम्पले बिगारेको कमलपोखरी काठमाडौँ महानगरपालिका आफैँले पुनर्निर्माण गर्न लागेको छ। महानगरले आधुनिक हिसाबले निर्माण गर्न लागेको कमलपोखरीका चार कुनामा कमलका फूल रोप्ने तयारी रहेको कामनपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए।
करिब नौ करोड लगानीमा बन्न लागेको कमलपोखरीको टेण्डर आह्वानको तयारी भइरहेको छ। पिँधमा कंक्रिट वा अन्य केही राखेर पानी जम्मा गर्ने तयारी भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ। हाकाहाकीसँग कुरा गर्दै वडाध्यक्ष श्रेष्ठले अबको दुई वर्षमा कमलपोखरीले नयाँ स्वरुप पाउने ग्यारेन्टी दिए।
‘तपाईहरूले अबको दुई वर्षमा सुन्दर अनि आकर्षक कमलपोखरी देख्न पाउनुहुनेछ,’ उनले भने, ‘स्थानीय तथा महानगर दुबैको रोहवरमा बन्ने भएकाले कमलपोखरी पुनर्निर्माणमा समयमै हुनेछ।’