Friday, September 20, 2024

मोहनाले जन्म दियो, खुटियाले जीवन

धनगढी– काम गर्ने जागर र अठोट भए ‘बालुवामा पनि सुन फलाउन सकिन्छ’ भन्ने गतिला उदाहरण बनेका छन्, धनगढी उपमहानगरपालिका–७ खुटिया नदी किनारामा बस्ने मुस्लिम समुदायका १० घरपरिवार।

 मुलुकमा रोजगारीको अवसर नभएको भन्दै जीवन धान्नैकै लागि नेपाली श्रम बर्सेनि विदशिदै छ। तर, नेपालका नदी, खोलानालाले भने विदेशी श्रमशक्तिलाई भित्राइरहेको छ।

गैर नेपालीहरूले यहाँका नदीमा बनेका बगरलाई समेत गतिलो आम्दानीको स्रोत बनाएका छन्। उनीहरू नदी किनारको बालुवालाई नै जीवन बुटी सम्झन्छन्।

३५ वर्ष अघि भारतीय नागरिक शून्य खान बगर खेती गर्न नेपाल आए। पाँच वर्षदेखि भारत उत्तरप्रदेश सितारगंजका सलामत अलि पैसा कमाउन कैलालीको खुटिया नदी किनार पुगे। भारत उत्तराखण्डका बाखिल अहमदको जन्म मोहना नदी किनारमै भयो। कृषक बाहेक धेरै जसो भारतीय नागरिकले नेपालका नदी किनारको बगरलाई आम्दानीको स्रोत बनाइरहेका छन्।

भारतमा पनि बगरखेतीले गुजरा चलाउँदै आएका उनीहरू नेपालका नदीमा त्यसको ठुलो सम्भावना देखिपछि उनीहरू लामो समयदेखि यही कर्मथलो बनाउँदै आएका छन्।

खुटिया नदीको वडा नम्बर ७ र १५ क्षेत्रमा दुई समूहमा ठेक्का मार्फतखेती गरिरहेका छन्। एक समूहमा चार जना र अर्को समूहमा १० परिवार मिलेर करीब ३० देखि ४० विगाह बगर क्षेत्रमा तरकारी खेती गरिहेको भारत उत्तराखण्ड प्रदेश उद्यमसिंहनगर गाउँका ६० वर्षिया शून्य खानले बताए।

अघिल्लो वर्ष नदीले बालुवा बढी बनाएकोले ५० हजारमा ठेक्का लिएका थिए। यस वर्ष बगर क्षेत्र कम भएकाले ३५ हजारमा स्थानीयबाट ठेक्का लिइ तरकारी खेती सुरु गरेको उनले बताए। नदीले जति बगर छोड्यो उनीहरूको लागि आम्दानीको स्रोत बढ्ने गर्छ र बगरको बालुवामा पैसा फलाउँछन्।

शून्य खानलाई नेपालका नदी बगरमा तरकारी खेती गर्न लागेको ३५ वर्ष पुगी सक्यो। खुटिया नदीमा मात्रै तरकारी खेती गर्न लागेको १७ वर्ष भयो। तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि बिस्तारै अरूलाई पनि बोलाएर समूहमा तरकारी खेती गर्न थालेका हुन्, उनी।

बगरमा तरकारीको सिजन ६ महिना मात्रै चल्छ। वर्षातमा नदी आएर बगाउने भएकाले उनीहरू त्यतिबेला नदी नलाग्ने जमिन लिजमा लिएर वर्षे तरकारी फलाउँछन्। बगरमा करीब ४ महिना सम्याउन, बालुवा उर्वर बनाउन र बीऊ छर्न लाग्छ। त्यसको २ महिनामा तरकारी तयार गरेर बिक्री गर्ने गरेको उनीहरू बताउँछन्। अहिले उनीहरूको बालुवा उर्वर बनाउने र बिउ उत्पादनको समय चलेको छ।

धनगढी उपमहानगरपालिका–७ (नदी बारी) मा १० परिवारले टहरा (अस्थायी घर) बनाएर बसोबास गरिरहेका छन्। भने, खुटिया नदी पारी (वडा नम्बर १५) बगरमा तरकारी खेती गर्छन्। हिउँदमा बगरखेती र वर्षातमा वर्षे तरकारी फलाएर मनग्य आम्दानी गर्छन्।

एक सिजनमा प्रतिपरिवार १ देखि २ लाखसम्म कमाउने गरेका छन्। नेपालमा कमाएका पैसा वर्षेनि भारत पुर्‍याउछन्।
उत्तर प्रदेशकै बाखिल अहमद अहिले ३० वर्षका भए। तरकारी खेती गर्न मोहना नदी बगर पुगेका उनका आमाबुबाले अहमलाई मोहना किनारमा जन्म दिए। मोहनाकै बालुवा हुर्के, बढे। त्यहीकै बालुवामा खेले र तरकारी लगाउन थाले। लामो समय मोहना नदी किनारमा तरकारी खेती गरेको अहमदको परिवार १७ वर्षदेखि खुटियाको बगरमा तरकारी गर्दै आएका छन्।

उनी नेपालका नदीले आफ्नो परिवारको जीवन चलाएको बताउँछन्। ‘मोहना नदीको बगरमा खेती गर्दा मेरो जन्म भएको हो, अहिले हामी खुटिया नदी किनारमा खेती गर्छौ,’ अहमदले भने, ‘मोहनाले मलाई जन्म दियो, खुटियाले हाम्रो जीवन धानेको छ।’

आफ्नो पुर्खाले समेत बगरमा तरकारी खेती गरी जीवन चलाउने गरेको स्मरण गर्दै उनले आफू पनि पुख्र्यौली पेशालाई निरन्तरता दिइरहने बताए। बगर खेतीबाट आम्दानी राम्रो हुने भए पनि यसलाई निरन्तरता दिन निकै समस्या भइरहेको अर्को कृषक सरीफ खान बताउँछन्। बालुवा तरकारी खेती गर्दा खर्च र मेहनत बढी लाग्ने गरेको उनी बताउँछन्।

खुटिना नदीको बगरबाट आम्दानीसँगै तरकारीलाई पानी समेत दिँदै आएको छ। ‘पाँच दिनमा एक चोटि विउँविरुवामा पानी हाल्नुपर्छ। पानी टाढा लिन जानुपनि पर्दैन। नदीमा प्रशस्त पानी छ,’ उनले भने, ‘६ महिना बिहान साँझ यही बगरमै बित्छ । बीऊ लगाउनु, खन्नु, पानी हाल्नु, मल हाल्नु र यसको रेखदेख गर्नु निकै चुनौती छ।’

भारतीय नागरिक अमना अलि पनि खुटिया नदीमा तरकारी खेती गर्दै आएकी छिन्। १२ वर्ष अघि विवाह लगत्तै श्रीमानसँग नेपाल आएकी उनी तरकारी खेती गर्न श्रीमानलाई सघाइरहेकी छिन्। श्रीमान् बारीमा जाँदा घर व्यवहार चलाउने गरेकी उनले तरकारी खेतीले आफ्नो परिवारमा खुसी ल्याएको बताइन्। ‘नदी हाम्रो जीवन हो। यसले गर्दा नै हाम्रो घरपरिवारमा अन्न आउँछ’ उनले भनिन् ‘नदीले बगर बनाएन भने हाम्रो रोटी नै खोसिन्छ।’

खुटिया (कनरी नदीले परिचित) हिउँदमा नदी बगर खेती गर्ने कृषकका लागि वरदान बन्छ। बाढी आएको बेला यही नदी सबैका लागि काल बन्ने गर्छ।

नेपालका नदीहरूले आफ्नो जीवन चलाएको अधिकांश भारतीय बगर कृषकहरू बताउँछन्। थोरै दुःखले आम्दानी हुने भएपछि उनीहरू बगर क्षेत्रलाई कर्मभूमि बनाउँदै आएका छन्। यद्यपि बगर खेतीका पनि आफ्नै जोखिम तथा समस्या रहेको उनीहरूको भनाइ छ।

कहिलेकाही नदीमा आउने बाढी, किरा, तरकारीमा लाग्ने रोग तथा बजारको समस्या बाहेक बगर खेतीमा अरू जोखिम नभएको कृषक सलामत अलि बताउँछन्। थोरै दुःख र मेहनत गर्न सके थुप्रै नदीका बगरमा खेती गर्न सकिने उनको भनाइ छ। यद्यपि यसको लागि धैर्य र मेहनत भने आवश्यक रहेको उनी बताउँछन्।

धनगढी उपमहानगरपालिकाका अनुसार वडा नम्बर १५, १६, १७ र शिवगंगा नदीको वडा नम्बर १६ को बगर क्षेत्रमा तरकारी खेती भइरहेको छ। साथै, यो वर्ष ४६ हेक्टर बगरमा बगरखेती भइरहेको उपमहानगपालिकाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार