Sunday, November 17, 2024

हिमपातले चौँरीगाई बेंसी सारिए

रसुवा – रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ। रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ। उत्तरी क्षेत्रका लाङटाङ, चन्दनबारी, गतलाङ, थुमनको नाकथली, यार्साको माथिल्लो भेकलगायत क्षेत्रको जनजीवन बढी कष्टकर भएको छ।

जाडोको जोखिमबाट सुरक्षित राख्न स्थानीय तहमार्फत आफूले समन्वय गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए। अहिले सदरमुकाम धुञ्चेको तापक्रम भने माइनस २ डिग्री सेल्सियस छ।

हिमपातले पशुको चरण क्षेत्रसमेत प्रभावित बन्दै गएकाले माथिल्लो भेकमा रहेका करीब ५०० चौँरीगाई तल्लो क्षेत्रको बेंसीतर्फ सारिसकिएको चौँरीपालक अगुवा कृषक सोनामनुर्पु घलेले जानकारी दिए। हिमपातको चिसोबाट सुरक्षित रहन न्यानो लुगा लगाउन, तातोपानी र तातो तातो खाना खान तथा हिँडडुल गर्दा लठ्ठी प्रयोग गर्न रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले सुझाव दिए।

हिमपातको चिसोबाट जोगिन विपन्न बर्गको छनोट गरी उत्तरी क्षेत्रको गतलाङ, चिलिमे र लाङटाङ क्षेत्रका केही बासिन्दालाई गत हप्ता नै कम्बल वितरण गरिएको छ। हिमपातका समयमा स्थानीय नागरिकलाई पर्न सक्ने असर न्यूनीकरण गर्न आफूहरू तयार रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

हिमपातका कारण कुनै गाउँबस्तीका बासिन्दा स्थानान्तरण गर्नु परेमा नजीकको प्रहरी चौकी वा विपद् व्यवस्थापन समितिलाई तुरून्त खबर गरिदिन स्थानीयवासीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताए। यस्तै गए रातिदेखि विद्युत् सेवासमेत अवरूद्व हुँदा विद्युत्को सहायताले हुने सबै काम प्रभावित भएको यहाँका सरकारी अधिकारीले बताएका छन्। ज्ञानेन्द्र न्यौपाने/रासस

ताजा समाचार

सम्बन्धित समाचार