Saturday, November 23, 2024

मासिँदै गुराँसकाे वन, बन्याे पञ्च वर्षीय कार्ययोजना

काठमाडौं–मुलुकका ४३ जिल्लाको मध्य एवं उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने गुराँसको वन मासिँदै गएका बेला सरकारले पञ्च वर्षीय संरक्षण कार्ययोजना तयार गरेको छ।

दाउराका रुपमा अत्यधिक प्रयोग हुनु कोइला बनाउने प्रचलन, खुला चरिचरन, चोरी निकासी र डढेलाका कारण गुराँस वन मासिँने क्रम बढ्दै गएका बेला वन था भू–संरक्षण विभागले ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८० तयार गरेर १० वटा रणनीति र ५२ वटा कार्यनीतिहरू तय गरेको हो।

‘विकासका भौतिक पूर्वाधार निर्माण, खेती तथा अन्य प्रयोजनका लागि वन क्षेत्रको बढ्दो अतिक्रमण बढ्दै गएकोमा पछिल्लो समय तापक्रम वृद्धि एवं सुख्खापनामा वृद्धिका कारण गुराँस संरक्षणमा चुनौति थपिएको छ, ‘वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक एवं कार्ययोजना टोलीमा रहेका डा. राजेन्द्र केसी भन्छन्, ‘गुराँसका प्रजातिको संरक्षण, दीगो व्यवस्थापन र गुराँस केन्द्रित उद्यम तथा पर्यापर्यटनमा सघाउ पुर्‍याउने कार्ययोजनाको उद्देश्य छ।

नेपालमा पाइने ३१ प्रजातिको गुराँसमध्ये लालीगुराँस राष्ट्रिय फूल हो। वन अनुसन्धान विभागका अनुसार मुलुकमा गुराँस मिश्रित वन क्षेत्र ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर रहेको छ।

पाँच वर्षको अवधिमा गुराँसको वन क्षेत्रको पहिचान, चरिचरण क्षेत्रको व्यवस्थापन र वृक्षरोपण गरिनेछ, भने अधिक मात्रामा गुराँसको दाउरा प्रयोग हुने क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रवद्र्धन गर्ने, सुधारिएको चुल्हो वितरण गर्ने कार्ययोजनामा उल्लेख छ।

कार्ययोजना अनुसार गुुराँस वन संरक्षणका लागि पाँच वर्षमामा २० करोड रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख छ। कार्ययोजनामा अगाडि भनिएको छ, ‘कार्ययोजनाको कार्यान्वयन संघीय सरकार, प्रदेश र स्थानीय तहहरूसँगको समन्वय, सहकार्यमा वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका विभाग, केन्द्र तथा निकायहरुका साथै विभिन्न डिभिजन वन कार्यालयहरूबाट हुनेछ।

विभागका उपमहानिर्देशक केसीका अनुसार संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र संरक्षित क्षेत्रभन्दा बाहिर वन तथा भू–संरक्षण विभाग, प्रदेश वन लगायतले कार्ययोजना कार्यान्वयन गर्नेछन्। गुराँसको लोपोन्मुख प्रजातिको संरक्षणका लागि वनस्पति विभागले र अध्ययन अनुसन्धानका लागि वन अनुसन्धान तथा तालिम केन्द्रले संयोजन गर्नेछ। ‘साथै, कार्ययोजना कार्यान्वयनका लागि वन उपभोक्ता समूह समुदायमा आधारित संघसंस्था र गैरसरकारी संस्थाको सहकार्यलाई समेत प्रोत्साहन गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ।

प्रदेश १ मा गुराँसको वन तिनजुरे–मिल्के–जलजले क्षेत्रसँगै सोलुखुम्बु र इलाम जिल्लामा रहेको छ, भने प्रदेश ३ को दामन–सिमभन्ञ्याङ र रसुवा क्षेत्रमा पाइन्छ। त्यस्तै, गण्डकी प्रदेशको घोडेपानी, लमजुङ र म्याग्दी क्षेत्र, कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, गुराँसे क्षेत्र (दैलेख)मा गुराँसको वन रहेको छ, भने सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा र बैतडी क्षेत्रमा गुरासका जंगल रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार