Friday, September 20, 2024

‘वन्यजन्तुका लागि अन्डरपास बनाएर मात्र बसन्तामा हुलाकी मार्ग’

धनगढी–कैलालीमा रहेको बसन्ता जैविक मार्गमा वन्यजन्तुमैत्री संरचना निर्माण गरिनुपर्ने अडान डिभिजन वन कार्यालय कैलालीले लिएको छ।

वन कार्यालयले बसन्ता जैविक मार्ग वन्यजन्तुका लागि संवेदनशील क्षेत्र भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्ने सहमतिपछि मात्र रोकिएको दुई किलोमिटर हुलाकी सडक निर्माण कार्य अगाडि बढ्ने अडान लिएको हो।

बसन्ता जैविक मार्ग भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ। दुदुवा नेसनल पार्क हुँदै नेपालको बसन्ता वन, चुरेसम्म वर्षको दुई सिजनमा हात्ती, बाघ तथा साना प्रजातिका वन्यजन्तु ओहोरदोहोर गर्दै आएको संरक्षणकर्मी बताउँछन्।

‘बसन्ता जैविक मार्ग वन्यजन्तुको वासस्थानको स्थान हो। त्यसलाई मध्येनजर गरेर मात्र विकास निर्माण गर्नपर्छ,’ डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत अमरबहादुर बुलनले भने, ‘वन्यजन्तुमैत्री संरचना निर्माण, वृक्षरोपण वा वन्यजन्तु ओहोरदोहोर गर्ने वातावणको सुनिश्चितता हनुपर्छ।’

केही दिन अघि मात्र पूर्वकृषि मन्त्री गौरीशंकर चौधरी, प्रदेश सांसद वीरमान चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत अमरबहादुर बुलन, बसन्ता सवडिभिजन वन कार्यालयका रेन्जर रामऔतार चौधरीलगायतले वन्यजन्तुमैत्री संरचना निर्माणको लागि स्थलगत निरीक्षण गरेका थिए।

डिभिजन वन अधिकृत बुलनले जैविक मार्गमा वन्यजन्तुका लागि तीन वटा अन्डरपास र एक वटा ओभरपासका बनाउन आवश्यक रहेको बताए। यसका साथै सडकभन्दा पश्चिमतिर ताराबार गर्नुपर्ने, वृक्षरोपण हुनुपर्ने र सडकमा वन्यजन्तुसम्बन्धी होडिङ्गबोड राखेर ब्रेकर बनाउनुपर्ने उनले बताए।

बसन्ता जैविक मार्ग वन्यजन्तुको लागि अति महत्त्वपूर्ण र संवेदशील ठाउँ भएकाले यहाँ वन्यजन्तुमैत्री संरचना निर्माण गरिनुपर्ने र यस सम्बन्धी तयार भएको प्रतिवेदन केही दिनमा वन तथा वातावरण मन्त्रालयमा पठाइने उनले बताए।

यो भन्दा अघि वैकल्पिक बाटो खोजेर सडक निर्माण गरिनुपर्ने अडान वनको थियो। तर, हुलाकी मार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) परिवर्तन गर्न नसकिने भारतीय निर्माण कम्पनीले बताएपछि वनले अन्डरपास र ओभरपासको नयाँ विकल्पको खोजी गरेको हो। बसन्ता वनको कुल ६९ हजार एक दशमलव २२ हेक्टर छ।

ताजा समाचार

सम्बन्धित समाचार