काठमाडौँ–मेलम्ची खानेपानी आयोजनाको काम बीचैमा छोडेर गएको ठेकेदार इटालियन कम्पनी (सिएमसी) नफर्कने देखिएपछि सरकारले ठेक्का रद्द गर्ने भएको छ। अंग्रेजी नयाँ वर्ष मनाउन इटली गएका ठेकेदार कम्पनीका कामदारहरू अहिलेसम्म पनि नर्फकेपछि सरकारले सिएमसीलाई लेटर अफ टर्मिनेशन (एकतर्फी ठेक्का तोडेको पत्र) पठाएको हो।
हाकाहाकीसँग कुरा गर्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भइसकेको बताए। मेलम्चीको ठेक्का रद्द भए बाँकी काम मन्त्रिपरिषद्बाट स्वीकृत गराई नयाँ ढंगबाट अघि बढाउने उनको भनाइ छ।
‘मेलम्ची ठेकेदार कम्पनीको धरौटी रकम जफत गरिसकेकाले आयोजना सञ्चालनमा कुनै पनि समस्या हुँदैन’ उनले भने, ‘ठेकेदार कम्पनीको बैंक धरौटीबापत तीन अर्ब रकम झिकिसकेका छौं, अब लगत तयार पारेर बाँकी काम अघि बढाउँछौं।’
मेलम्ची खानेपानी आयोजनाले आइतबार नै ठेकेदार कम्पनीका प्रमुख कार्यकारी निर्देशक (सिइओ) पाउओ पार्सेलीलाई १४ दिने सूचना दिएर ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको पत्र पठाएको छ । आयोजनाका विषयमा छलफल गर्न सिएमसीलाई पटक पटक बोलाउँदा पनि नआएपछि सरकारले एकतर्फी रुपमा ठेक्का रद्द गरी धरौटी जफत गर्न लागेको हो।
भुक्तानी गर्न बाँकी रकम र भेरिएसन वापत रकम थप नगरेसम्म काममा नफर्कने भन्दै सिएमसीले काठ ठप्प पारेको थियो।
मलेम्चीको पानी काठमाडौंमा ल्याउने गरी सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको अवस्थामा काम गर्न पैसा नभएको भन्दै ठेकेदार कम्पनीले साइट छाडेको थियो । सरकारले धरौटी रकम रोक्का गरेपछि सीएमसी अदालत पुगे पनि अदालतबाट सरकारलाई धारैटी जफत गर्न बाटो खुलिसकेको छ।