Sunday, November 17, 2024

धुलोधुवाँबाट आक्रान्त राजधानीवासीको प्रश्न, मेयरसाप, ब्रुमर खोइ ?

काठमाडौं– कलंकीका दिनेश दुलाल भर्खर अस्पतालबाट डिस्चार्ज भए। कलंकीबाट ठमेल दैनिक रूपमा आउजाउ गर्दा छिचोल्नुपर्ने धुलोका कारण उनको नाकमा संक्रमण देखियो। त्यसैले उनी सात दिन वीर अस्पतालको बेडमा भर्ना भए।
यो एउटा प्रतिनिधि घटना मात्र हो। यी र यस्ता समस्याले राजधानीवासी आक्रान्त छन् । काठमाडौँ महानगरले समयमै धुलोधुवाँ नियन्त्रण गर्न नसक्दा जनजीवन प्रभावित भएको छ।

काठमाडांै महानगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका सरकारी निकायको ध्यान नजाँदा यस्ता समस्या धेरैमा देखिएको छ । उनी प्रश्न गर्छन्, ‘महानगरले ल्याउने भनेको धुलो हटाउने ब्रुमर खोइ?’

स्थानीय निकायको निर्वाचनका समयमा महानगरपालिका प्रमुखका दाबेदार विद्यासुन्दर शाक्यले काठमाडौंलाई धुलोधुवाँमुक्त स्मार्ट सिटी बनाउने उद्घोष गरेका थिए । उनी निर्वाचन जितेर मेयर बनेको डेढ वर्ष भइसक्यो । तर उनले परिकल्पना गरेअनुसार न त काठमाडौं धुलोधुवाँमुक्त हुन सकेको छ न त स्मार्ट सिटीकै लागि आवश्यक पूर्वाधार बन्न सकेको छ । यतिखेर शाक्यको निर्वाचनअघिको उद्घोष उद्घोषमै सीमित बनेको छ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली समेतले ब्रुमर ल्याएर काठमाडौंका सडक सफाइ गर्ने आश्वासन दिएका थिए। तर पनि ब्रुमर भने राजधानीमा देखिएन।

काठमाडौं महानगरपालिकाका अनुसार हाल महानगरपालिकासँग एउटा पनि ब्रुमर छैन। डेढ वर्षदेखि ब्रुमर ल्याउने प्रक्रिया थाले पनि महानगरले संवेदनशीलता अपनाउन नसक्दा समयमै आउन नसकेको हो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार महानगरले ब्रुमर किन्न चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ। सो रकमबाट पाँचवटा बहुउद्देश्यीय र अत्याधुनिक प्रविधिको ब्रुमर ल्याउने निर्णय पनि महानगरले गरेको छ।

महानगरका प्रवक्ता डंगोलले आफूहरूसँग ब्रुमर नभए पनि सडक विभागसँग समन्वय गरेर विभागको ब्रुमर प्रयोग गर्ने गरिएको जानकारी दिए। विभागसँग भने दुईवटा ब्रुमर छ। महानगरले बेलाबेलामा सडक सफा पार्न ती ब्रुमर प्रयोग गर्ने बताए पनि महानगरवासीले भने अहिलेसम्म राम्ररी ब्रुमरको मुखसमेत देख्न पाएका छैनन्। महानगरका भीआईपी क्षेत्रमा मात्रै कहिलेकाहीँ ब्रुमर प्रयोग गर्ने गरिएको छ तर राजधानीका अधिकांश स्थान अहिले पनि २४सै घण्टा धुलाम्य हुने गरेको छ।
महानगरले इटालीबाट बु्रमर ल्याउन लागेको हो। जसले भ्याकुमका रूपमा धुलो तान्नेछ भने प्लास्टिक तथा बोतल जस्ता फोहोरसमेत सजिलै तान्नेछ।

महानगर प्रवक्ता डंगोलले महानगरपालिकाले अर्डर गरेका ब्रुमर तयार भइसकेकाले झन्डै तीन महिनाभित्र आउने दाबी गरे।
काठमाडांै महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि अत्याधुनिक ब्रुमर छिट्टै आउने भएकाले अब धुलोको समस्या समाधान हुने दाबी गरे।

चीनले समेत महानगरलाई दुईवटा ब्रुमर सहयोगस्वरूप दिने घोषणा गरेको थियो। तर, त्यो समेत नेपाल आइसकेको छैन। महानगरपालिकाले ल्याउने पाँच र चीनको सहयोगमा आउने दुईवटा ब्रुमर थपिएपछि राजधानीमा धुलोधुवाँ र सास्ती हट्ने दाबी महानगरका अधिकारीको छ। केशवप्रसाद पाण्डे /राजधानी दैनिक

ताजा समाचार

सम्बन्धित समाचार