काठमाडौँ – सरकारले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल खरिद गर्ने भएको छ । ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल सञ्चालनका लागि सरकारले भारतसँग रेल खरिद गर्न लागेको हो।
गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले रेल खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएसँगै सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको हो।
विहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यातायात मन्त्रालयलाई रेल खरिदका लागि स्वीकृति दिएको बताएका थिए।
भारतसँग जी टु जी (दुई सरकारबीच खरीद विक्री) प्रक्रियामा रेल किन्न लागेको नेपाल सरकारले रेल किनेर आफैँले सञ्चालन गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले बताए।
‘नेपाल सरकारले आफ्नै लगानीमा रेल किन्न लागेको हो, यसको लागि मन्त्रिपरिषद्ले स्वीृकत पनि गरिसकेको छ,’ उनले भने, अहिले हामी प्रक्रियामा छौँ अब चाँडै नै नेपालको आफ्नै रेल हुन्छ।’
जनकपुर–जयनगर चल्ने दुइ रेल किन्न १ अर्ब लगानी लाग्नसक्ने उनको भनाइ छ। उनले पहिलो चरणमा रेल खरिदका लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको बताए।
जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो । रेलको लिक ओछ्याउने काम सम्पन्न भैसकेको छ।