काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माणका साथै वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा तत्कालको मौसमी सूचना दिने राडार स्थापना शिर्षकमा टीका बन्धनको समाचार छापिएको छ । तत्कालिन यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ सञ्चालनमा आएको छ । केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउँछ ।
केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ ।
सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा १८ खानेपानी योजना अल्झिए शिर्षकमा समाचार छापिएको छ। ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष खारेज गरेपछि रामेछापमा सञ्चालित विविभिन्न १८ वटा खानेपानी योजना अलपत्र परेका छन् । कुनै आधा काम भएको भने कतै संरचनाको लागि आवश्यक पर्ने मेसेनरी खरिद गर्नै बाँकी छ।
विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा कोषले उक्त आयोजना निर्माण गरिरहेकै बेलामा सरकारले गएको असारमा कोष खारेज गरेको थियो।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउन ३८ करोड निकासा शिर्षकमा समाचार छापिएको छ। काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा उत्सर्जन हुने फोहोर विसर्जनका लागि नुवाकोट र धादिङको सिमानामा नयाँ ल्यान्डफिल साइट निर्माण गर्न सरकारले रकम निकासा गरेको छ। यस वर्ष नै ल्यान्डफिलसाइट निर्माण सुरु गर्न अर्थ मन्त्रालयले ३८ करोड रुपैयाँ निकासा गरेको सहरी विकास मन्त्रालय जनाएको छ। मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार फागुनमा टेन्डर आह्वान गर्ने गरी मन्त्रायले काम गर्दै छ ।