Friday, September 20, 2024

निजगढ विमानस्थल : लगानी सुनिश्चित नभएसम्म रुख नकाट्न सुझाव

काठमाडौँ – निजगढ अन्तराष्ट्रिय विमानस्थलको लगानी सुनिश्चित नभएसम्म रुख काट्ने लगायतका कुनै पनि कार्य अगाडी नवढाउन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले सुझाव दिएको छ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वको उक्त उपसमितिले बुधबार समितिकी सभापति पवित्रा खरेललाई प्रतिवेदन बुझाउँदै लगानी सुनिश्चित नभएसम्म त्यहाँ रुख काट्ने लगायतका अन्य कार्य नगर्न  सुझाव दिएकाे हाे।

गत १२ असोजमा संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले निजगढ, त्रिभुवन अन्तराष्ट्रिय, पोखरा, भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलको अध्ययन गर्न पूर्वप्रधानमन्त्री नेपालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाएको थियो। उपसमितिमा सांसदहरू दिव्यमणि राजभण्डारी, दिपकप्रसाद भट्ट, चाँदतारा कुमारी र निर्जला राउत रहेका छन्।

निजगढको हवाइ तथा स्थलगत अनुगमनपश्चात उपसमितिले तयार पारेको प्रतिवेदनमा लगानीको सुनिश्चितापछि मात्र रुख काट्नु पर्ने र त्यसका लागि तत्काल विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार पार्नुपर्ने जनाइएकाे छ।

हाकाहाकीसँग कुरागर्दै उपसमितिका एक सदस्यले निजगढ विमानस्थल बनाउनेमा कुनै दुविधा नरहेको तर कुन मोडलमा बनाउने, कसले बनाउने लगायतका कुराको सुनिश्चित नभएसम्म हतार गर्न नहुने बताए।

‘विमानस्थल बनाउनुपर्छ तर, पहिला लगानी निश्चित होस, कुन मोडलमा बनाउने सबै कुरा पहिला नै तय भएपछि मात्र काम शुरु गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ,’ उनले भने, हामीले बनाउनु हतार गर्नुभन्दा पनि सबै कुरालाई मिलाए पछि मात्र काम गर्न सुझाव दिएका छौँ।

यसका साथै प्रतिवेदनमा जंगल फँडानी गरेर बस्ती बस्दै गइरहेको भन्दै उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ। बस्ती बसाउँदा विमानस्थलभन्दा केही टाढा नै बनाउँदा उपयुक्त हुने उक्त प्रतिवेदनमा जनाइएको छ। ‘विमानस्थल छेउमा रहेका जंगल फडाँनी गरेर स्मार्ट सिटी बनाउने तयारी भइरहेको छ, तर त्यहाँ शहर बनाउन आवश्यक देखिँदैन, उपसमितिका सदस्यले भने, यसै त प्रदेश दुईमा जंगल कम छ त्यसमाथि झन रुख काटेर बस्ती बसाउँदा वातावरणलाई नै प्रतिकुल असर पर्ने देखिन्छ।’

नेपाल बाहेकका अन्य देशमा अन्तराष्ट्रिय विमानस्थल नजिक बस्ती नभएको बताउँदै उनले उक्त स्थानमा जंगल फडानी गरेर बस्ती बसाल्न नपर्ने बताए। फास्ट ट्र्याक बनिसकेपछि काठमाडौँ दुई–तीन घण्टामा काठमाडौँ आइपुग्ने भएकाले निजगढमा कुनैपनि स्मार्ट सिटीको आवश्यकता नरहेको उनको दाबी छ।

काटिने रुखको सट्टा अहिले नै वृक्षरोपण गर्नुपर्ने
प्रतिवेदनमा काटिएको रुखको सट्टा अर्को स्थानमा रोप्ने भनिएको विरुवा रोप्न शुरु गर्न समेत सुझाएकाे छ। अहिले नै वृक्षरोपण गरियो भने पछि रुख काटिँदा पनि पर्यावरणलाई त्यति असर नपर्ने प्रतिवेदनमा उल्लेख छ। ‘अहिले हतार गरेर रूख काट्नुभन्दा त्यसकाे सट्टा राेपिने भनेकाे  विरूवा राेप्दै गर्दा हुने सुझाव दिएका छाैँ,’ उपसमितिका एक सदस्यले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले वन मन्त्रालयसँग रुख कटानीका लागि अनुमति दिन आग्रह गरिरहेका बेला संसदीय उपसमितिले लगानी र अरु न्यूनतम तयारी बिना रुख काट्न नहुने जनाएको छ। रुख काट्नुभन्दा अगाडि नै अन्य स्थानमा वृक्षरोपण गरियो भने वातावरणलाई असर नपर्ने प्रतिवेदनको निष्कर्ष छ। विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार रुख काट्नुपर्ने र पहिलो चरणका साना ठूला गरी सात लाख रुख काट्नु पर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआए)मा उल्लेख छ।

पर्यटन मन्त्रालयले अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सन् १९९५ मा देशका आठ सम्भावित स्थानको अध्ययनपछि निजगढमा नै विनमास्थल बनाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो। यसका साथै सात वर्षअघि निजगढ विमानस्थलको सम्भाव्यता अध्ययन गर्दै कोरियन कम्पनीले विमानस्थल निर्माणका लागि साढे ६ अर्ब अमेरिकी डलर लाग्ने बताएको थियो।

नामिडाँडामा विमानस्थल आवश्यक छैन
उपसमितिले अहिले सञ्चालन भइरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्दै काभ्रेको नामिडाँडामा आन्तरिक विमानस्थल बनाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तयारी अगाडि नबढाउन निर्देशन दिएको छ।

निजगढमा विमानस्थल निर्माण भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आन्तरिक विमानस्थलमा परिणत हुने भएकाले काभ्रेमा विमानस्थल आवश्यक नरहेको उसमितिका सदस्यको भनाई छ।

ताजा समाचार

सम्बन्धित समाचार