काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा विद्युत विस्तार गर्न जंगल फँडानी शिर्षकमा समाचार छापिएको छ। ग्रामिण विद्युतीकरणका नाममा खनियावासका २ सामुदायिक वन क्षेत्रको जंगल सखाप भएको छ। विद्युत विस्तार गर्दा तार तान्ने पोल गाड्नुपर्ने ठाउँबाट अधिकतम ३/३ मिटर खाली गर्नुपर्नेमा १५ देखि २५ मिटरसम्म सयौँ वर्ष पूराना जंगल फडानी गएिपछि स्थानीय तहले आपत्ति जनाएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम शिर्षकमा अनिल भण्डारीको समाचार छापिएको छ । धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्ने उक्त सडक पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको छ। पुल र सडक निर्माण गरी झन्डै ४५ प्रतिशत काम सकिएको सडक आयोजनाले जनाएको छ। सडकको तुलनामा पुल निर्माण धेरै अगाडि बढेको छ। पूर्व र पश्चिम दुई खण्डमा विभाजन गरी उक्त राजमार्ग निर्माण भइरहेको छ। दुवै खण्डमा सडक, पुल, कजवे, ह्युम पाइप, बक्स तथा स्ल्याब कल्भर्ट लगायतका संरचना निर्माण धमाधम भइरहेको आयोजनाले जानकारी दिएको छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा स्थानीय सरकारको चुनौती बन्यो फोहोर व्यवस्थापन शिर्षकमा समाचार छापिएको छ । बैतडीका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र(डम्पिङ साइड) निर्माण गरेका छैनन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न नसकेका हुन् ।
स्थानीय सरकारले डम्पिङ साइड नबनाइ खुला स्थानमा फोहोर फाल्दा विभिन्न खालका स्वास्थ्य समस्या ल्याउने स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइड नहुँदा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ ।