काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएका छन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा मेलम्चीको ठेकेदार फेरि सम्पर्कविहीन शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ । मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ।
सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ।
कान्तिपुर
–आजको कान्तिपुरमा चिनीको मूल्य बढाउन चलखेल शिर्षकमाराजु चौधरीको समाचार छापिएको छ । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवर्द्धनको नाममा दसैंको मुखमा आयात बन्द गराउन सफल उद्योगीहरू अहिले मूल्य बढाउने चलखेलमा लागेका हुन् ।
उनीहरूले आफ्नो लागत (कारखाना मूल्य) प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिय योजना आयोग, अर्थ, उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मूल्य कार्यान्वयन भए उपभोक्ताले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरू बताउँछन् । ‘उद्योगीहरूले कारखाना मूल्य बढाएर ६० रुपैयाँ पुर्याएका छन् । थप बढाएर ७८ रुपैयाँ १० पैसा पुर्याउन सुझाव दिएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘वर्षभरिको घाटा पूर्ति गर्न खोजेको देखिन्छ ।’
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा चिनीको मूल्य बढाउन चलखेल शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । स्वदेशी उद्योग जोगाउन भन्दै राज्यबाट सुविधा लिएका उद्योगीले फेरि चिनीको मूल्य बढाउन माग गरेका छन्। नेपाल चिनी उत्पादक संघले उपभोक्ता मूल्य प्रतिकिलो आठ रुपैयाँसम्म बढाउन सरकारसँग माग गरेको छ। संघले किसानलाई सहजरूपमा भुक्तानी दिन र उद्योग सञ्चालन गर्न बैंकबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनसमेत प्रस्ताव गरेको छ।
संघले चिनी उत्पादन लागत बढेको भन्दै आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमक्ष प्रतिकिलो चिनीको लागत मूल्य भ्याटबाहेक ७८ रुपैयाँ १० पैसा कायम गर्न प्रस्ताव गरेको छ। संघका तर्फबाट अध्यक्ष शशिकान्त अग्रवालले यो मूल्य विभागमा प्रस्ताव गरेका हुन्। यसमा भ्याट १३ प्रतिशतका दरले १० रुपैयाँ १५ पैसा जोड्दा चिनीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ २५ पैसा हुन आउँछ। सरकारको गैरजिम्मेवारीपनका कारण बजारमा चिनीको मूल्य एकरुपता छैन। बजारमा पसलपिच्छे प्रतिकिलो ७० देखि ८० सम्म छ।
राजधानी
–आजको राजधानीमा राजधानीमा ६१ नयाँ स्मार्ट सार्वजनिक शौचालय शिर्षकमा समाचार छापिएको छ। महानगरपालिकाले ६१ वटा नयाँ स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने गृहकार्य अघि बढाएको छ। राजधानीको सार्वजनिक स्थलहरूमा मानिसहरूको चाप अत्यधिक हुने भएकाले महानगरले ६१ स्मार्ट शौचालय थप्ने गृहकार्य अघि बढाएको हो।
हाल महानगरको विभिन्न स्थलहरूमा ५७ सार्वजनिक शौचालय स्थापना गरिएको छ। तर, तीमध्ये कुनै पनि स्मार्ट र आधुनिक छैनन्। यी सार्वजनिक शौचायल सडक छेउ, बसपार्क, धार्मिक स्थल र आकाशे पुलमुनि स्थापित छन्, जहाँ सर्वसाधारणले शौच गरेवापत २ देखि १० रुपैयाँसम्म तिर्नुपर्छ ।