Friday, September 20, 2024

बेतबाँसले फेरिएको जीवन : गृहिणीदेखि उद्यमीसम्म

धनगढी–कैलारी गाउँपालिका–५ की सोचमनी चौधरी विगत १२ वर्षदेखि व्यावसायीकरुपमा बेतबाँसका सामग्री बनाउँदै आएकी छन्। बेतबाँसका सामग्री बनाएर बेच्न थालेपछि सोचमनीको दिनचर्या नै परिवर्तन गरिदिएको छ।

बेतबास उद्यमी साेचमनी चाैधरी।

गृहिणी हुँदा बेतबाँसलाई खाना पकाउन तथा जाडो याममा आगो ताप्नमात्र प्रयोग गर्ने जानेकी सोचमनीले अहिले त्यसको सदुपयोग गर्ने जानेपछि मनग्य आम्दानी समेत गर्दै आएकी छिन्। ‘पहिलाेखाना पकाउन बेतबाँसको प्रयोग गर्थे। तर, बेतबाँस सम्बन्धी ४५ दिने तालिम लिएपछि यसको सही प्रयोग गर्ने जाने,’ उनले भनिन्, ‘अहिले मेरो परिचय पनि परिवर्तन भएको छ। अहिले म उद्यमी महिलाको रूपमा परिचय बनाउन सफल भएकी छु।’

उनले आफूसँगै आफ्ना श्रीमानलाई समेत यो पेसामा संलग्न गराएकी छन्। चौधरी दम्पतीले बेतबाँसको प्रयोग गरी फर्निचर तथा विभिन्न सजावटका समान बनाउँदै आएका छन्। ‘८ वर्ष पहिला घरमै बनाएका बेतबाँसका सामान भारतको चन्दनचौकीमा बेच्न जान्थे,’ उनले भनिन्, ‘विगत चार वर्षदेखि नेपालमै बेतबाँसका समानको माग राम्रो आउन थालेको छ।’

उनले बाँस आफैैले रोपेकी छिन्, भने बेत टीकापुरबाट ल्याउँछिन्। सोचमनी बेतबाँसबाट कुर्सी, टेबल, ह्याङ्गर, र्‍याक,टोकरी, फोटो फ्रेम, फूलदानी, पेन होल्डर, ब्रसदानी, सोफालगायतका सामग्री बनाएर बेच्दै आएकी छन्।

‘पहिले विदेशीको रोजाइमा रहेका यी सामग्रीहरू अहिले स्थानीय उपभोक्ताको रोजाइमा पर्ने गरेका छन्,’ सोचमनीले भनिन्,‘यो दिगो अनि टिकाउँ छ। बिग्रिएमा पनि पुन: प्रयोग गर्न सकिन्छ।’

बेतबाँसबाट बनेका सामग्रीको माग बढ्दै गएकोमा उनी उत्साहित छिन्। ‘प्लास्टिकका सामान पुन: प्रयोग पनि हुँदैन। यसले दुर्घन्धमात्र गर्छ। त्यही भएर होला बेतबाँसका सामग्रीको माग बढी आउँछ।तर, माग अनुसार कच्चाप्रदार्थ अपुग हुन्छ,’ उनी भन्छिन्।

उनले बनाएको सामन सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत जाने गरेको छ। उनले ४ जनालाई निःशुल्क बेतबाँसका सामग्री बनाउने तालिम दिएकी छिन्। त्यसमध्ये दुई जना व्यवसायी बनिसकेका छन्, भने दुई जना सीप सिक्दै छन्। उनी कैलालीका विभिन्न २० ठाउँमा बेतबाँस सम्बन्धी निःशुल्क तालिम प्रदान समेत गरेको बताउँछिन्।

उनले मासिक ६० हजार कमाई गर्छिन्। चौधरी दम्पतीले यही बेतबाँसको व्यवसायबाट दुई छोरालाई शिक्षा दिन सफल भएका छन्। धनगढीमा ८ धुर जमिन समेत किनेको उनी बताउँछिन्।

वार्षिक १५ क्विन्टल बेत खपत हुन्छ। १ क्वीन्टलबाट २२ हजार नाफा हुँदै आएको साेचमनीले बताइन्।

त्यसै गरी धनगढी उपमहानगरपालिका–४ की लक्ष्मी चौधरी पनि बेचबाँसका सामग्रीबाट राम्रो आम्दानी गर्न सफल भएकी छिन्। थोरै मेहनतमा घरमै बसी–बसी राम्रो आम्दानी हुने गरेको उनी बताउँछिन्। ‘घरधन्दा सकाएपछि दुई बुहारी र म तीन जना मिलेर माग अनुसार बेतबाँसका सामग्री बनाउने गर्छौ,’ उनले भनिन्।

बेतबास उद्यमी लक्ष्मी चाैधरी।

लक्ष्मीलाई यति बेला अर्डर अनुसारको सामाग्री बनाउन भ्याईनभ्याई छ। विगत दुई तीन वर्षदेखि बेतबाँसका सामग्रीको माग बढी आउन थालेको उनको अनुभव छ। ‘पहिला मैले मात्र बनाउँथे। पछि माग बढी आउँन थालेपछि दुई बुहारीलाई पनि यही काममा संलग्न गरे,’ उनले भनिन्।

महिनामा सबै खर्च कटाएर ४० हजार फाइदा हुने गरेको लक्ष्मीले बताइन्। उनी वार्षिक १० देखि १५ क्विन्टल बेत खपत गर्ने गरेको बताउँछिन्।

सोचमनी र लक्ष्मीजस्तै टीकापुर अम्बासाकी सुनमती चौधरीले पनि विगत ४ वर्षदेखि बेतबाँसको सामग्री बनाउँदै आएकी छन्। घरधन्दापछि उनको दैनिकी पनि बेतबाँसका सामग्री बनाउँदै जान्छ। दुई छोरा र छोरीलाई पढाउनका साथै घरखर्च चलाउन सजह भएको छ उनलाई।

बेतबाँस उद्यमी सुुनमति चाैधरी।

उनले पनि आफ्ना श्रीमानलाई यी सामग्री बनाउँ सिकाउँदै छिन्। ‘अरूकोमा काम गर्नुभन्दा घरमै बसेर राम्रो कमाइ गर्ने सकिन्छ। त्यसैले बुढालाई पनि यही काम गर्न सिकाउँदै छु,’ उनले भनिन्। उनले वार्षिक १० क्विन्टल बेत खपत गर्छिन्।

राष्ट्रिय लघु उद्यमी महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार कैलालीमा  बेतबाँसका सामग्री बनाउने २ सयभन्दा बढी उद्यमी छन्।

राष्ट्रिय लघु उद्यमी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गणेश विष्टका अनुसार यहाँ बनेको सामग्री स्थानीय स्तरदेखि पोखरा,काठमाडौँसम्म जाने गर्छ। अहिले बेतबाँसका सामग्रीको माग उत्साहजनक रूपमा आइरहेको उनले बताए। ‘अहिले उद्यमीहरूले मागको ३५ प्रतिशत मात्र सामग्री बनाउन सकेका छन्,’ विष्टले भने,‘ बेत सहजरुपमा पाउन नसक्दा माग पुरा गर्न नसकिएको हो।’

ताजा समाचार

सम्बन्धित समाचार