म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले प्रत्येक विद्यार्थीका घरमा ओखर रोप्ने अभियान शुरु गरेको छ। ‘एक विद्यार्थी एक घर, एक बोट ओखर’ कार्यक्रमअन्तर्गत ओखरका बिरुवा वितरण शुरु गरिएको छ।
गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष राजाराम सुवेदीले मङ्गलबार मराङमा रहेको जनविकास माविका ११२ विद्यार्थीलाई दुई वटाका दरले दाँते जातका ओखरका बिरुवा वितरण गरेर अभियानको शुरुआत गरेका हुन्। गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई एउटा घरमा दुई वटाका दरले नदोहोरिने गरेर ओखरका बिरुवा वितरण गरिने सुवेदीले बताए।
गत असारको गाउँसभाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको यस कार्यक्रम कार्यान्वयन गर्न गाउँसभाबाट रु दश लाख बजेट विनियोजन गरेको थियो। विद्यार्थीको स्मरणशक्ति वृद्धि गरी सिर्जनात्मकताको प्रष्फुटन गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कार्यक्रमले स्थानीयवासीको आयआर्जन, वातावरण संरक्षण र वन विकासमा सहयोग पुग्ने अध्यक्ष थमसरा पुनले बताए। अधिकांश उच्च पहाडी भूगोलमा अवस्थित गाउँपालिकामा बालबालिकाको बौद्धिक क्षमता विकासमा उपयोगी मानिएको ओखर खेती प्रवद्र्धन गरी शैक्षिक र आयआर्जनको सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष पुनको भनाइ थियो।
उनका अनुसार आगामी आवमा गाउँपालिकाका सबै घर र विद्यार्थीलाई कम्तीमा एक वटाका दरले ओखरको बिरुवा वितरण गरिने छ। यस वर्ष बाहिर जिल्लाबाट बिरुवा ल्याएर वितरण गरिए पनि अर्को वर्षका लागि ७ नम्बर वडा हिलापोखरीका समबहादुर थापाले ओखरका बिरुवा उत्पादन शुरु गरिसकेका छन् । रासस