काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीको विषयमा छानवीन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई ४ बुँदे निर्देशन दिएको छ।
समितिको मंगलबार(आज) बसेको बैठकले राष्ट्रिय गौरवको आयोजनाहरूको विद्यमान अवस्था र अनुगमनको सम्बन्धमा केन्द्रका प्रमुख अधिकृतसँग छलफल गर्दै आयोजनाको गुणस्तर मापन, अनुगमन, प्राविधिक परीक्षण तथा सम्बन्धित विज्ञहरूको सहयोगमा ढिलासुस्तीलाई सूक्ष्म अध्ययन गर्न निर्देशन दिएको हो।
बैठकले चालु आर्थिक वर्षमा के–कस्तो कारबाहीका लागि सिफारिस गरियो सो को विवरण समेत समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ।
निर्देशनमा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत सिक्टा सिँचाइ अयोजना, माथिल्लो तामाकोशी, हुलाकी राजमार्ग, बबई सिँचाइ आयोजना, बुढीगण्डकी जलविद्युत् आयोजना, फास्ट ट्र्याक, मेलम्ची खानेपानी आयोजना, निजगढ विमानस्थल, मध्यमहाडी लोगमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती तथा अन्य विभिन्न विषयमा अनुगमन गर्न तथा छानवीन गरी त्यसको विवरण समितिलाई उपलब्ध गराउन भनिएको छ।