डढेलोको चपेटामा दक्षिण एसियाका वन क्षेत्र

एक सातामा एक लाख बढि स्थानमा डढेलो

काठमाडौं, १५ चैत– खडेरी लागे सँगै वन क्षेत्रमा डढेलो लाग्ने क्रम ह्वात्तै बढेको छ । यसले दक्षिण एसियाको वन क्षेत्र र त्यसमा रहेका जैविक विविधता विनाश क्रम पनि बढाएको छ ।

नासाको एक साता यताको तथ्याङ्कले दक्षिण एसियामा १ लाख २४ हजार ८ सय २३ ठाउँमा डढेलो लागेको देखिन्छ ।

नेपालको वनक्षेत्रमा पनि दिउँसोको समयमा बढी डढेलोको लागेको नासाले जनाएको छ ।

मार्च महिनाको ७ तारिखदेखि २४ तारिखसम्म दैनिक २७ देखि १५९ पटक सम्म डढेलो लागेको देखिन्छ ।

नासाको तथ्याङ्क अनुसार नेपालको बारा, चितवन, दाङ, कैलाली, कालिकोट, बर्दिया, धादिङ, महोत्तरी, पर्सा, सप्तरी र उदयपुरका वन क्षेत्रमा सबैभन्दा बढि डढेलो लागेको देखिन्छ ।

वन विभाग राष्ट्रिय वन महाशाखाका उपमहानिर्देशक राजेन्द्र के. सी.का अनुसार ६४ प्रतिशत डढेलो मानविय गतिविध र ३२ प्रतिशत आकस्मिक रुपमा लाग्ने गरेको छ ।

‘मानिसको लापरवाहीले दिउँसोको समयमा बढि डढेलो लाग्ने गरको छ’, के. सी.ले भने । ‘राम्रो घाँस उमार्न, गैरकाष्ठ वन पैदावार संकलन गर्न, वन्यजन्तुको शिकार खेल्न, सुकेको काठ दाउरा निकाल्न, रिसिइवी साँध्न लगायतका विभिन्न उद्धेश्यले मानिसले आगो लगाउने गरेको पाइएको छ” उनले भने ।

खेतीबारी मलिलो बनाउन, वन अपराध सम्बन्धी दसी प्रमाण नष्ट गर्न, हिंस्रक वन्यजन्तु धपाउन र खोरिया फडानी गरी खेती गर्न समेत वनमा आगो लगाउने गरेको उनको भनाई छ ।

सन् २०१६ को तथ्याङ्क हेर्दा बर्दिया, बाँके, चितवन, पर्सा, सिन्धुली र भक्तपुर जिल्लाका वन क्षेत्रमा १ सय देखि १ सय ६७ पटक डढेलो लागेको वन विभागको तथ्याङक छ । त्यसैगरीे दार्चुला, कञ्चनपुर, दाङ, नवलपरासी, बारा र उदयपुर जिल्लाहरुमा ५० देखि १ सय पटकसम्म आगलागी भएको थियो ।

नेपालका वनमा मध्य फागुनदेखि मध्यबैशाखसम्म अत्यधिक डढेलो लाग्ने गरेको वन विभागले जनाएको छ । विभागका अनुसार नेपालमा ८३ प्रतिशत डढेलो सोही समय अर्थात मार्चदेखि अप्रिल महिनामा लाग्ने गर्छ ।

नेपाल फरेष्ट्री फायर म्यानेज्मेन्ट च्याप्टरका अनुसार यी महिनामा दैनिक औसत २७ देखि १ सय ६० पटक वनमा डढेलो लाग्ने गर्छ । यी महिना सुख्खा हुने, वन वनस्पती सुक्ने र नयाँ पालुवाको सुरुवात हुने भएकाले एक ठाउँमा लागेको आगो जंगलभरी फैलने गरेको हो ।

डढेलो विज्ञ सुन्दर शर्माले डढेलो सम्बन्धी बनेको कानुन कार्यान्वयन र वन जोगाउन जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउँछन् । ‘मानिसलाई कानुनबारे थाहा छैन । वन सम्बन्धी कानुनको कार्यान्वयन र वन जोगाउन जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक छ’,उनले भने ।

शर्माले डढेलो नियन्त्रण गर्नका लागि छुटै संरचनाको व्यवस्था गरे मात्र डढेलो नियन्त्रण हुनसक्ने बताउछन् ।

वन क्षेत्रमा लाग्ने डढेलोले ठूलो मानवीय जोखिम बढाउनुको साथै लोपउन्मुख वन्यजन्तु, वनस्पति लगायत पर्यावरणीय अनुकुलतामा क्षति हुने गरेको छ भने डढेलोकै कारण ६ वर्षमा ७५ जनाले ज्यान गुमाएका छन् । जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा पर्याप्त होसियारी नबन्दा उनीहरुको मृत्यु भएको वन विभागले जनाएको छ ।

विभागका अनुसार सन् २०११ मा एक, सन् २०१२ मा चार, सन् २०१४ मा तेह्र, सन् २०१५ मा तीन र सन् २०१६ मा एघार जनाले ज्यान विभागको अभिलेखमा उल्लेख छ । आ.व. २०६४/६५ मा मात्र वन डढेलोको कारण गुल्मी, रामेछाप लगायतका अन्य जिल्लामा गरी ४३ जनाले ज्यान गुमाएका थिए ।

जंगलमा डढेलो नियन्त्रण गर्ने तथा आगो लगाउनेलाई कानुनी कारवाहीको व्यवस्था पनि छ । यद्यपी यस्ता ऐन कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था कमजोर हुँदा डढेलो लाग्ने क्रम घट्नुको सट्टा वर्षेनी बढिरहेको छ । जसले गर्दा वन क्षेत्रको विनास रोक्न सकिएको छैन् ।

वन ऐन २०४९ ले वन क्षेत्रमा आगो लगाउनेलाई १० हजार जरिवाना र एक वर्ष कैदको व्यवस्था गरेको भएपनि यो कसुरमा अहिलेसम्म कसैको नाममा मुद्दा दर्ता भएको छैन । यस तथ्यले पनि डढेलो जस्तो विनाशकारी प्रकोपमा संलग्नहरु कानुनी दायरामा नआएको देखाउँछ ।

डढेलो लगाउने मान्छेको पहिचान नहुँने र गाउँलेहरुले समेत डढेलो लगाउने विरुद्ध मुद्दा दर्ता नगर्ने भएकाले डढेलो लगाउने व्यक्ति कानुनी परिवन्धबाट बचिरहेको विभागका उपमहानिर्देश के. सी. बताउँछन् ।

वन तथा भू–संरक्षण मन्त्रालय र इसिमोडको संयुक्त पहलमा सन् २०१३ अप्रिल १२ मा वन डढेलोको सूचना प्रवाहका लागि अधिकारिक रुपमा रियल टाइम फरेष्ट फाइर अलर्ट सिस्टमको समेत सुरुवात गरिएको छ । यो प्रणाली नेपालभित्र जुनसुकै स्थानको वन जंगलमा आगलागी भएमा सिस्टममा इन्टूी गरिएको मोबाइल नम्बर र इमेलमा आगलागीको घट्नाको सूचना जान्छ र सम्बन्धित निकायलाई आगलागीको बारेमा जानकारी पुग्नुका साथै आगलागी नियन्त्रणको लागि आवश्यक तयारी गर्न सहयोग पुग्छ ।

आर्थिक वर्ष २०७१/७२ मा नेपालमा करिब २,२५,००० हेक्टर वनक्षेत्रमा आगलागी भएको थियो भने आ.व. २०७२/७३ मा करिव ३,५०,००० हेक्टर वनक्षेत्रमा आगलागी भएको वन विभागको तथ्यांक छ ।

वन मन्त्रालयले कन्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, नवलपरासी, चितवन र पर्सा जिल्लालाई डढेलोको अति संवेदनशील जिल्लाहरुको सूचिमा राखेको छ । वन विभागका अनुसार नेपालको कुल भू–भागको करिब ४४.७४% क्षेत्रफल वनक्षेत्रले ओगटेको छ ।