पर्वत – खानेपानीको अभाव रहेको पर्वत मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ।
मोदी गाउँपालिका–६ को साविक तिलहार गाविस ठूलो भूभाग र वडा नं ८ साविक चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पुर्याउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना बनाउन थालिएको हो।
खानेपानी तथा सरसफाइ डिभिजन बागलुङले रु तीन करोडमा योजना निर्माण गर्न थालेको हो। योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभिजन प्रमुख प्रेम डोटेलले बताए। नवजागृत माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण गरिनेछ। योजनाबाट मोदी–८ को ओडारे, मोदी–७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपूर्ति हुनेछ। डिभिजनका इञ्जिनीयर सङ्गीता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरी योजना पुरा गर्न आग्रह गरे।
मोदी गाउँपालिका–६ का अध्यक्ष विमल लामिछानेले चुनावमा हरेक घरमा एउटा खानेपानीको धारा पुर्याउने प्रतिबद्धताअनुसार प्रदेश सरकारबाट रु ५० लाख विनियोजन गरी काम थालेको जानकारी दिए। योजनाको सांसद पदम गिरीले बुधबार शिलान्यास गर्दै चार वर्षभित्रमा पर्वतलाई मुलुकमै पहिलो स्वच्छ पिउने पानी उपलब्ध भएको जिल्ला बनाउने लक्ष्यसहित खानेपानी क्षेत्रमा काम भइरहेको बताए। रासस