ललितपुर– गत २२ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदबारमा फलफूलको बिरुवा रोप्दै शुरु गरेको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियान अन्तर्गत हालसम्म देशभर झण्डै २९ लाख बिरुवा रोपिएको छ।
‘फलफूल रोपे हरियाली पनि हुन्छ, फल खान पनि पाइन्छ,’ भन्दै लिची र एभोकाडोको बिरुवा रोपेर अभियानको शुरु गरेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले ठूलो सहयोग गर्ने बताएका थिए।
त्यसको सात महिनासम्ममा देशभर २८ लाख ९० हजार ९ सय १९ फलफूलको विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा वृक्षरोपण भएको छ। उक्त प्रदेशमा फलफूलका ८ लाख ३० हजार २ सय १४ बिरुवा रोपिएको छ।
त्यसैगरी, प्रदेश नम्बर ५ मा फलफूलका ४ लाख २४ हजार २ सय २४ बिरुवा रोपिएको छ। देशको राजधानी रहेको प्रदेश ३ मा ३ लाख ५५ हजार ३ सय ३६ वृक्षरोपण हुँदा कर्णाली प्रदेशमा २ लाख ५६ हजार ४ यस ३५ बिरुवा रोपिएको छ।
प्रदेश १ मा २ लाख २ हजार ३ सय ६४ बिरुवा रोपिएको छ भने सुदूरपश्चिममा फलफूलका १ लाख ८२ हजार ३ सय ९३ बिरुवा रोपिएको छ।
सबैभन्दा कम प्रदेश २ मा ६५ हजार सात सय ७३ विरुवा रोपिएको छ।
त्यस्तै फलफूलमा भने सबैभन्दा धेरै कागती रोपिएको छ। देशभर ५ लाख ४ हजार ४ सय ९४ कागतीको विरुवा रोपिएको छ । त्यसैगरी अलैँची पनि कागतीको हाराहारीमै रोपिएको छ। ४ लाख ६९ हजार १ सय ५० अलैँचीको बिरुवा रोपिएको छ।
३ लाख ३९ हजार ८ सय ३८ सुन्तला र मुन्तला रोपिँदा २ लाख ५९ हजार ३ सय ६५ आँपको विरुवा रोपिएको छ। ३० भन्दा बढी फलफूलको बिरुवा रोपिएकोमा भुँईकटहरका ५ वटा बिरुवा मात्र रोपिएको छ।
त्यसपछि अंजिर ३५, खुरपानी ८ सय ६८, एभोकाडो २ हजार ४३, नास्पाती ७ हजार ४ सय २२ रोपिएको छ भने लिची, केरा, स्याउ, अम्बा, अनार, कटहर, ओखर आदि १० हजार भन्दा बढीको मात्रामा रोपिएको छ।
कुन जिल्लामा कति बिरुवा रोपिए हेर्नुहोस् ?