Friday, October 18, 2024

‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान

गलेश्वर– मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब सङ्कलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो ।
सो गाउँपालिकाको वडा नं ५ अर्मनस्थित शिशुकल्याण माविमा अगुवा कृषक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको रोहवरमा उक्त अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

“जङ्गलमा खेर गएको वनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहर, पातपतिङ्गर र पिसाब मिलाएर जैविक मल उत्पादन गरी बिक्री गर्ने गरी अभियान सञ्चालन गरेका हौँ,” उनले भने । तरकारी खेतीमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै उर्वराशक्ति बढाउन कृषि विज्ञ वीरेन्द्रप्रकाश पोख्रेलले कृषकलाई अनुरोध गरे। सो अवसरमा जिल्लामा मानवमूत्र सङ्कलनको अवस्था, यसबाट आयआर्जन, कृषकको जीवनस्तरमा आउने परिवर्तन लगायतका विषयमा तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको थियो ।

मङ्गलाका कृषकले मानवमूत्र सङ्कलन गरेर तरकारी खेतीमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक किसानलाई पिसाबबाट आम्दानीको हिसाब गर्ने बनाएर उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन अभियान सञ्चालन गरिएको अध्यक्ष रोका बताए । उनले सार्वजनिक स्थान र विद्यालयका शौचालमा पिसाब सङ्कलन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने जानकारी दिए ।

त्यसैगरी गाउँपालिकाले सानो लगानीमा समेत पर्याप्त आम्दानी गर्न मिल्ने क्षेत्रको पहिचान गरिरहेको छ । कृषकलाई उक्त अभियानका लागि साथ दिनसमेत अनुरोध गरिएको छ । मानव मलमूत्रसँगै पशु मलमूत्र पनि सँगसँगै सङ्कलन गरी भकारो सुधार कार्यक्रमलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार