Friday, October 18, 2024

बंगलादेशमा चट्याङबाट तीन सय जनाको मृत्यु

२० असोज, काठमाडौं
यस वर्ष चट्याङमा परी बंगलादेशमा करिब ३ सय जनाको ज्यान गएको छ । मानवीय क्षतिको यो तथ्यांक ८ महिनाको हो ।

मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका छन् । यो वर्षको फेब्रुअरी महिनादेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङले २ सय ४२ जना पुरूष र ५५ महिलासहित २ सय ९७ जनाको मृत्यु भएको छ ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम’ (एसएसटीएफे)ले शनिबार (१९ असोजमा) ढाकामा पत्रकार सम्मेलनमार्फत यो तथ्य सार्वजनिक गरेको हो । चट्याङबाट ८ महिनाको अवधिमा ७३ जना घाइते छन् ।

मौसम परिवर्तन हुने महिनाहरूमा बंगलादेशमा चट्याङको असर बढी पर्ने पाइएको छ ।

मानवीय क्षतिको घटना मे महिनामा सबैभन्दा बढी भएको छ । सो महिनामा ९७ जनाको निधन भएको थियो । ७७ जनाले जुनमा, ४७ जनाले सेप्टेम्बरमा, १९ जनाले जुनमा र १७ जनाले अगस्टमा ज्यान गुमाएका थिए ।

एसएसटीएफले सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन तथा विश्लेषण गर्दै आएको छ । चट्याङबाट अधिकांश ग्रामीण क्षेत्रका मानिसले ज्यान गुमाएका छन् ।

खेतबारीमा काम गरिरहेको समयमा बढी मानवीय क्षति भएको छ । चट्याङबाट हुने क्षतिका घटनालाई जलवायु परिवर्तनसँग पनि जोडेर विश्लेषण गर्न थालिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार