Friday, October 18, 2024

चितवन निकुञ्जमा बढ्यो सुरक्षा

२१ असोज, चितवन
दसैँ, तिहारजस्ता चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने ठहर गर्दै चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा बढाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यो समयमा चोरी सिकारीका घटना बढी हुने भएकाले सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । नियमित जाँचसँगै आकस्मिक गस्ती र जाँचलाई बढाइएको उनले बताए । उनले भने, ‘निकुञ्ज क्षेत्रका ६७ वटा पोस्टलाई चुस्त बनाएका छौँ । अझै प्रभावकारी रूपमा काम गर्नका लागि समुदायसँग नियमित सम्पर्कमा रहन निर्देशन गरिएको छ ।’

नेपाली सेना र निकुञ्ज प्रशासनका ती पोस्टबाट नियमित गस्ती र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । पुनले थपे, ‘चाडपर्वको समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि समुदायमा आधारित चोरी सिकारी नियन्त्रण एकाइलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।’

यहाँ पाइने पाटेबाघ र गैंडाको चोरी सिकारी विगतमा चाडपर्वको समयमा बढी हुने गरेको भन्दै उनले यो समयमा हात्तीबाट गरिने गस्ती, पैदल गस्ती, साइकल गस्तीलगायतलाई थप प्रभावकारी बनाइएको बताए ।

चाडपर्वको समयमा चोरी सिकारी हुनसक्ने क्षेत्रको पहिचान गरी संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन र व्यवस्थापनको काम गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको उनले बताए ।

यस वर्ष निकुञ्ज र आसपासको क्षेत्रमा ६ वटा गैंडा मृत फेला परेका छन् । यसमध्ये एउटालाई करेन्ट लागेर मारिएको छ भने अन्य कालगतिले मरेका हुन् ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार